विदेशबाट फर्किंदा भन्सार नतिरी के-के सामान ल्याउन पाइन्छ? (सूची)
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै विदेशबाट फर्किंदा ल्याउने केही सामानमा भन्सार छूट दिने व्यवस्था गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते संघीय संसद्मा बजेट पेश गरेका थिए। त्यससँगै अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी भन्सार छूट हुने वस्तुको सूची सार्वजनिक गरेको छ।
राजपत्रमा प्रकाशित सूचना अनुसार विदेश जाने र विदेशबाट फर्किने यात्रुले आफ्नो साथमा लैजान र ल्याउन पाउने निजी प्रयोगका मालवस्तुमा भन्सार छूटको व्यवस्था गरिएको हो।
विदेशबाट फर्केका नेपालीले छूट पाउने सामान:
१) लुगाफाटा, बरबिछ्यौना, घरगृहस्थीका पुराना सामान,
२) औषधि उपचार गराई फर्केका बिरामीले ल्याएको औषधि,
३) शारीरिक रूपमा अशक्त यात्रुले सहाराका रूपमा प्रयोग गरेका सामान,
४) सुनको गहनामा पुरुषलाई २५ ग्राम र महिलालाई ५० ग्रामसम्म,
५) चाँदीको गहनामा ५०० ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुन वा चाँदीका गहना,
६) ट्याबलेट वा ल्यापटप वा डेक्सटप कम्युटर, घडी, क्यामरा, भिडिओ क्यामेरा र सेलुलर मोबाइल फोन एक–एक थान,
७) सात किलोसम्म खाद्य परिकार,
८) मदिरा एक लिटरसम्मको बोतल एक।
विदेश जाने नेपालीलाई भन्सार छूट हुने सामानः
१) आफ्नो प्रयोगका लागि लुगाफाटा, बरबिछ्यौना, घरगृहस्थीका पुराना सामान,
२) सौगातका रूपमा ५० हजार रुपैयाँ मूल्यसम्मका सामान।
सिमानामा ओहोरदोहार गर्ने व्यक्तिले भने यो सुविधा पाउनेछैनन्। सीमानामा ओहोरदोहोर गर्ने नागरिकले एक सय रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका सामान मात्रै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसूल नलिई छाड्न सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, भारतमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा ल्यापटप वा डेक्सटप कम्प्युटरमध्ये कुनै एक थानमा महसूल नलाग्ने व्यवस्था गरिएको छ।
राजपत्रमा प्रकाशित सूचना: