यस्तो छ गण्डकी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबारको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। पुराना कार्यक्रमको निरन्तरता तथा केही नयाँ थप कार्यक्रम सहित गण्डकी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम २४१ बुँदामा समेटेको छ।
स्वास्थ्य संस्थामै सुत्केरी गराउने अभियान सञ्चालन गरी गण्डकीलाई ‘संस्थागत सुत्केरी प्रदेश’ बनाउने कार्यक्रम घोषणा गरिएको छ। स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने दरलाई शून्यमा झार्न यो अभियानको घोषणा गरिएको जनाइएको छ।
यस्तै, स्थानीय सरकारसँगको समन्वयमा ग्रामीण अल्ट्रासाउन्ड सेवा पनि विस्तार गरिने भएको छ। क्यान्सरका बिरामीलाई थप एक लाख रुपैयाँसम्म आर्थिक सहायता दिने योजना छ। १० वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रदेश मातहतका अस्पतालमा निःशुल्क ओपीडी सेवा प्रदान गरिने भएको छ।
सरकारले ‘गण्डकीमा डायलासिस सेवा, नागरिकको स्वास्थ्यमा टेवा’ भन्ने नारा दिएर डायलासिस सेवालाई झन्झटमुक्त बनाउँदै पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा झार्ने नीति लिएको छ।
पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न संघीय सरकारकासँग समन्वय गर्ने र पुरानो विमानस्थललाई प्रदेश मातहत ल्याउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै, गण्डकी प्रदेशसँग जोडिएको कोरला-त्रिवेणी सडक मार्फत दुई छिमेकी राष्ट्र जोड्ने प्रयत्न गर्ने, बाल अस्पताल सञ्चालन गर्न साझेदारी गर्ने, किसानलाई प्रोत्साहनस्वरूप उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने, आन्तरिक तथा बाह्य पर्यटनका निमित्त रज्जुमार्ग, जलमार्ग लगायतको वैकल्पिक यातायात प्रविधिको प्रवर्द्धन, सम्भाव्यता अध्ययन गर्ने, खेलाडी उत्पादनमा स्थानीय तहसँग समन्वय गर्ने लगायत योजना अघि सारिएको छ।
संघीय सरकारको औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने नीतिलाई गण्डकी प्रदेश सरकारले पनि समेटेको छ। प्रदेश सरकारले आगामी असार १ गते ३३ अर्ब रुपैयाँ हारहारीको बजेट ल्याउने तयारी गरेको छ।