विवादित नागरिकता विधेयकमा के छ? (पूर्ण पाठ)
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण गरिएको नागरिकता विधेयक राजपत्रमा प्रकाशित भएको छ।
मन्त्रिपरिषद्को सिफारिशमा जेठ १७ मा राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको विधेयकमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपाली नागरिक मानिने व्यवस्था गरिएको छ। निजले १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछन्।
त्यस्तै, २०७२ असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले बाबु र आमा दुवै नेपाली नागरिक रहेछन् भने १६ वर्ष उमेर पुगेपछि वंशजका आधारमा नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ।
नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछन्।
मूल ऐनको दफा ७ (क) संशोधन गरेर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
आमा र बाबुको थर र ठेगानामध्ये सम्बन्धित व्यक्तिले रोजेको थर र ठेगाना राखेर नागरिकता बनाउन पाइने प्रावधान पनि राखिएको छ।
वर्तमान प्रतिनिधि सभाले चिन्दै नचिनेको विधेयक मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै विरोध भइरहेको छ। यसको विरोधमा सर्वोच्च अदालतमा रिट समेत दर्ता भएको छ।