गौर हत्याकाण्डलाई लिएर सर्वोच्चमा रिट दर्ता
गौर हत्याकाण्डलाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
त्रिभुवन शाह लगायत गौर हत्याकाण्डका पीडितहरूले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाएका छन्।
२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा (माओवादी) र मधेशी जनअधिकार फोरमले आमसभाको आयोजना गरेका थिए। दुवै पार्टीले एकै स्थानमा आमसभा आयोजना गरेपछि झडप भएको थियो।
झडपका क्रममा माओवादीका २७ जना कार्यकर्ताको ज्यान गएको थियो। झडपमा ११५ जना घाइते भएका थिए।
यस घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरेको थियो। आयोगको अनुसन्धानमा दोषी देखिएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहित १३० जनामाथि अनुसन्धान गरी मुद्दा चलाउन गत पुस १९ गते सरकारलाई सिफारिश गरेको थियो।
मुद्दा प्रक्रिया अघि नबढेपछि पीडित त्रिभुवन शाहले प्रहरीमा उजुरी दिएका थिए। तर, रौतहट प्रहरीले उजुरी लिन नमानेपछि सर्वोच्च अदालत पुगेको शाहले बताए। उनले रिटमा आफ्नो जाहेरी दर्ता गरी अनुसन्धान गर्न विपक्षीका नाममा परमादेश दिन माग गरेका छन्।
सर्वोच्चले यस रिटमाथि सोमबार पेशी तोकेको छ।