उफ्, उखरमाउलो गर्मी!
तराई-मधेशका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। यस्तो वेला सर्वसाधारणले कसरी दैनिकी चलाइरहेका छन्?
तराई-मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा तथा लू (हिट वेभ) चलिरहेको छ। गर्मी बढेसँगै जल तथा मौसम विज्ञान विभागले सिङ्गो मधेश प्रदेश तथा बागमती, लुम्बिनी र कोशी प्रदेशका तराईका कतिपय क्षेत्रलाई चेतावनीको स्तरमा राखेको छ। अर्थात्, यी स्थानमा तातो हावा एवं लूबाट बच्न सचेतना अपनाउन आग्रह गरेको छ।
यस बाहेक तराईका सबै क्षेत्रमा गर्मीबाट बच्न चनाखो रहन भनिएको छ। भित्री मधेशमा पनि सम्भावित अत्यधिक गर्मीबाट जोगिन सचेत रहन आग्रह गरिएको छ। विभागले पहाडका उपत्यका र खोचमा पनि तापक्रम क्रमशः बढ्ने आकलन गरेको छ।
मौसम विज्ञान विभागले तातो हावा तथा लूबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिंडडुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएको छ। तातो हावा तथा लूका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोश हुने, बान्ता हुने लगायत जोखिम निम्तन सक्छ।
पानी पर्न रोकिएसँगै पछिल्ला दिनमा देशभरिको अधिकतम र न्यूनतम तापक्रममा वृद्धि भइरहेको छ। विभागका अनुसार तराई र आसपासका क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ। मनसुनी वर्षा शुरू नहुँदासम्म अत्यधिक गर्मी कायम रहने जोखिम रहेको विभागले जनाएको छ। सामान्तया नेपालमा मनसुन ८ जुनमा शुरु हुन्छ।
धेरै गर्मीका कारण खासगरी तराई-मधेशको जनजीवन प्रभावित छ। दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ। यस्तो वेला तराई-मधेशमा सर्वसाधारण कसरी दैनिकी चलाइरहेका छन्? उनीहरूसँग गरिएको कुराकानीको सार संक्षेपः
सुनमाया र मानबहादुर दनुवार, गाईघाट
२०४० सालमा विवाह भएयता हामी सँगसँगै खेतीपाती गर्दै आएका छौं। ६ जना सन्तान भएपछि हुर्काउन, पढाउन थप परिश्रम गर्नु परिहाल्यो। गर्मी भनेर घरमै आनन्दले बस्न सकिंदैन।
खेतीपातीको काम त बिहान-बेलुका गर्छौं। दिउँसोको समय बयलगाढामा बाँस बेच्न हिंड्छौं। बयलगाढामा बाँसको व्यापार गर्न थालेको १७ वर्ष भयो। हरेक वर्ष यो साल त साह्रै गर्मी भए जस्तो लाग्छ, तर त्यस्तो होइन होला।
पहिला पो घाम भयो, यसो शीतलमा बसौं भन्दा ठूल्ठूला रूख हुन्थे, अहिले त रूख पनि कहाँ पाउनु? बूढाले छाता ओड्नुभयो भने म सलको सप्को टाउकोमा हाल्छु, बूढाले टाउकामा फेटा बाँधे म छाता ओड्छु। यो घाम त वर्षौंदेखि छाता र सप्कोले छल्दै आएका छौं।
रूपा दनुवार, उदयपुर
कटारीको रिस्कु जाँदै छु। राजाबासमा जन्मेहुर्केको भए पनि रिस्कुमा विवाह भएको हो। उता पनि गर्मी हुन्छ।
आजभोलि त गर्मीको कुरै के गर्नु? घरबाट निस्किँदा घामबाट जोगिन सनब्लकको प्रयोग गरेकी थिएँ, पसिनाले सबै गयो। छाताले पनि घाम छेक्दैन। अहिले चर्को घाम छ। एकछिन घाममा बस्दा टाउको दुखेर मर्नु हुन्छ! घाम सहनुभन्दा अर्को विकल्प नै के हुन्छ र?
सिमाना कार्की, गाईघाट
त्रियुगा नगरपालिका-७ स्थित विद्यालयमा पढाउँछु। गर्मी यति बढेको छ कि जिल्लाका धेरै विद्यालयमा बिहानको पढाइ हुन थालेको छ। दिउँसो असाध्यै गर्मीले पढाउनै नसक्ने अवस्था छ। बिहानी कक्षामा पनि विद्यार्थीको निद्रा पुगेको हुँदैन, साना बालबालिकाको त बिजोग हुन्छ।
विद्यालयको कक्षाकोठामा फ्यान छ। तर, सिमेन्टको प्लास्टर अनि टिनको छानो हुने भएकाले फ्यानले कामै गर्दैन। फ्यानको हावा त कहाँ जान्छ, पत्तै हुँदैन। त्यसैले कतिपय स्थानीय तहले विद्यालय बन्द पनि गरेका छन्।
नीतेश झा, जलेश्वर
अत्यधिक गर्मीले गर्दा बजारमा चहलपहल छैन। समान खरीद गर्ने ग्राहक कम छन्। गर्मी बढेकाले अरू सामानभन्दा पङ्खा खरीद गर्ने बढेका छन्।
गर्मीका कारण दैनिक कारोबार घटेको छ। दैनिक खर्च उठाउन पनि समस्या भइरहेको छ।
अर्को, घरबाट पसलसम्म ओहोरदोहोर गर्न पनि मुश्किल भइरहेको छ। दिउँसो त हिँडडुल गर्न नसक्ने अवस्था छ। घाम नअस्ताउँदासम्म बजारमा मान्छे नै देखिन छाडेका छन्।
विष्णु साह, महोत्तरी
आजभोलि त अत्यधिक गर्मी छ। आमनागरिक, बटुवालाई बाँच्नै गाह्रो जस्तो भइसक्यो। यस्तो वेला सरकारी निकायले भने केही वास्ता गरेको छैन।
जसरी जाडोमा चोक चोकमा दाउरा बाल्ने, निःशुल्क चिया बाँड्ने गरिन्छ, त्यस्तै गर्मीमा पनि केही उपाय निकाल्नुपर्छ। गर्मीमा चोक चोकमा पानीको व्यवस्था गर्नुपर्छ। सडकमा पानी छर्कने व्यवस्था गर्न सके केही सहज हुन्थ्यो। स्थानीय सरकारले यसमा ध्यान दिनुपर्छ। अत्यधिक घामबाट बच्ने उपायबारे पनि नागरिकलाई जानकारी दिनुपर्छ।
लिलु र तिलु बुढाथोकी, बुटवल
बुटवलको तिनाउ पुलको छेउमा मकै पोल्दै आएको वर्षौं भयो। रुकुम पूर्वबाट आएर यहाँ मकै पोलेर गुजारा चलाइरहेका छौं।
गर्मी बढेदेखि भने मकै बिक्री भएको छैन। दिउँसो ३ बजेदेखि बस्छौं, तर साँझ ६ बजेसम्म बिक्री नै हुँदैन। घाम नअस्ताउँदासम्म कोही आउँदैन।
पहिले जस्तो बिहानै आएर मकै पोलेर बस्न सकिंदैन। दिउँसो घामले पोल्छ। साँझ त बसिनसक्नु छ, दिउँसो कस्तो होला!
एउटा छाता लिएका छौं। दुई बोतल पानी पनि बोकेका छौं। बोतलको पानी उम्लेको भन्दा तातो भइसक्यो। पिउन नसकिने भएको छ।
त्यसैमाथि आगो बालेर मकै पोल्न त गाह्रै छ। झन् घामले हामीलाई पोलेको छ।
कर्णबहादुर सोमई मगर, बुटवल
बुटवल हाटबजारमा खुद्रा व्यापार गर्दै आएको छु। बिहान ९ बजे घरमै खाना खाएर आउँछु। त्यसपछि दिनभर यहीं हुन्छु। नगरपालिकालाई बैठकी बुझाएर यति ठाउँ पाएको छु। गर्मी भयो भनेर अन्त जान पाउँदिनँ। दिउँसो त त्रिपाल टाँग्नुपर्छ।
केही दिनयता गर्मी बढेको छ। दिउँसो त पसल छाडेर उता चौपारीतिर सुस्ताउन जान्छु। सामान किन्ने मान्छे आए भने मात्रै पसल आउँछु। साँझ ४ बजेपछि मात्रै पसलमा बस्न सकिन्छ।
एउटा हाते पङ्खा लिएको छु। धेरै गर्मी भयो भने यही हल्लाउँछु। टेबल पङ्खा राखूँ कि भन्ने सोचेको थिएँ, तर यहाँ बिजुली नै छैन।
नगरपालिकालाई एक सातामा तीन सय रुपैयाँ शुल्क तिर्छु। बैठकी भनेर दैनिक ४०-५० रुपैयाँ बुझाउनुपर्छ। त्यस बाहेक हाटबजार व्यवसायी समितिलाई पनि मासिक कर बुझाउँछु। शौचालय गएको छुट्टै पैसा तिर्नुपर्छ।
खानेपानीको पनि व्यवस्था छैन, घरबाटै ल्याउनुपर्छ। यो गर्मीमा घरबाट ल्याएको पानी एकैछिनमा तात्छ। एक गिलास चिसो पानी पिउन पनि पैसा नै खर्चिनुपर्छ। हामीले नगरपालिकालाई त्यत्रो पैसा किन बुझाउँछौं, कुन्नि?
राधा चौधरी, कैलाली
घर त कैलालीको कैलारी गाउँपालिका-४ मा पर्छ। धनगढी उपमहानगरपालिका-७ मा भाडामा बस्दै आएकी छु। घरतिर आम्दानीको स्रोत केही नभएपछि यहाँ आएर अटोरिक्शा चलाउँछु।
आजभोलि त असाध्यै गर्मी छ, बिहान-बेलुका मात्रै अटो चलाउँछु। दिउँसो त कोही बाहिर निस्कँदैन। दिउँसो अटो चलाउन पनि सकिंदैन। बिहान-बेलुका अटो चलाउँदा पनि पसिनाले निथ्रुक्कै भइन्छ। घाम भयो भनेर घरमा बस्न पनि मिल्दैन, बिहान-बेलुकाको छाक टार्न पनि अटो चलाउनै पर्यो।
चन्द्रावती राना, धनगढी
यो वर्ष त गर्मीले बाँच्नै गाह्रो भइरहेको छ। धनगढी उपमहानगरपालिका-७ आफ्नै घर त छ, तर टिनको छानो छ। गर्मी भएपछि अरू घरभित्र पस्छन्, हामी चाहिं बाहिर निस्कन्छौं। दिउँसो त टिनको छाना तातेर घरभित्र बस्नै सकिंदैन।
पङ्खा त छ, तर त्यसले कामै गर्दैन। पङ्खाले पनि तातो हावा फाल्छ। त्यसैले दिउँसोतिर त घर बाहिर रूखको छायामा बस्छौं।
राति पनि आपत् नै हुन्छ। सुत्नै सकिंदैन। राति वेलावेला बत्ती गइरहन्छ। बिजुली गएको वेला छटपटी हुन्छ। घरभित्र गर्मी हुन्छ, बाहिर लामखुट्टेले बस्नै सकिंदैन।
रमेशचन्द्र उपाध्याय, कैलाली
मधेशमा सजिलो होला भनेर पहाडबाट आएका थियौं। गर्मीमा त यहाँ झन् मुश्किल हुँदो रहेछ।
बाजुराबाट कैलाली आएको पाँच वर्ष भयो। अरू वेला त ठीकै हुन्छ, गर्मीमा त किन आएँ होला जस्तो लाग्छ।
एकतले घर छ, दिउँसो त तातेर बस्नै नसकिने हुन्छ। हिमाली जिल्ला बाजुरामा जन्मेहुर्केको मलाई गर्मीले तराई त अभिशाप जस्तै लाग्छ। सहनै सक्दिनँ, दिनभरि नलको चिसो पानीले नुहाइरहन्छु।
गर्मीले परिवारका सदस्यका शरीरभरि घमौरा आएका छन्। मेरो पनि अलि अलि घमौरा आएको छ। तराई त धनी मान्छेका लागि मात्रै रहेछ, हामी जस्तो गरीबका लागि त होइन रहेछ।