संरक्षणको पर्खाइमा ‘डार्क सिटाना’
विश्वमा सबैभन्दा पहिले सन् १९९८ मा नेपालको महोत्तरी जिल्लाको बर्दिबासमा रेकर्ड गरिएको डार्क सिटानालाई आईयूसीएनले अति सङ्कटापन्न प्रजाति भनेको छ। यो छेपारोलाई संरक्षणको प्राथमिकतामा राखेर व्यापक प्रचार गर्न सके विश्वभरका वैज्ञानिक, अनुसन्धाता, विद्यार्थी, छेपारोप्रेमी नेपालमा आकर्षित हुन सक्छन्।
बाघ, गैंडा, हिउँ चितुवा जसरी तामझामका साथ चर्चा नहुने र सधैं संरक्षणको पर्खाइ र नेपथ्यमा रहने प्रजाति हो- छेपारो। मानिस जत्रो ठूलो ‘कोमोडो ड्र्यागन’ देखि हातको एउटा औंला बराबरको ‘नानो केमेलियन’ सबै छेपारो प्रजातिका हुन्।
‘रेप्टाइल डेटाबेस’ अनुसार संसारभरि चार हजार ५०० भन्दा बढी प्रजातिका छेपारा पाइन्छन्। जसमध्ये नेपालमा ४२ प्रजाति पाइन्छन्। हालसालै विवेक गौतम र अन्य सम्मिलित टोलीले प्रकाशन गरेको लेखमा नेपालमा छेपारोको नयाँ प्रजाति ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ भेटिएको उल्लेख छ।
यो लेखमा चर्चा गरिने छेपारो चाहिं नेपालमा मात्र पाइने ‘डार्क सिटाना’ प्रजाति हो।
अति सङ्कटापन्न प्रजाति
सिटाना दक्षिणएशियामा पाइने रैथाने प्रजातिको छेपारो हो। सिटाना तमिल भाषाको ‘सिटवोना’ शब्दबाट लिइएको हो जसको अर्थ ‘सानो छेपारो’ हुन्छ।
विश्वमा हाल नेपाल, भारत, श्रीलंका र पाकिस्तानबाट सिटानाका १४ प्रजाति रेकर्ड भएका छन्। सिटाना प्रजातिका छेपारा सानादेखि मध्यम आकारका हुन्छन्। यिनले आफ्नो जीवनचक्र जमीनमै बिताउँछ्न्।
यिनीहरूको भालेको घाँटीमा ठयाक्कै पङ्खा आकार हुने भएकाले ‘फ्यान थ्रोटेड लिजार्ड’ भनेर पनि चिनिन्छ। नेपालमा विशेषतः सिटानाका तीन प्रजाति पाइन्छन्- शिवालिक सिटाना, डार्क सिटाना र शुक्लाफाँटा सिटाना।
डार्क सिटानाको वैज्ञानिक नाम ‘सिटाना फुस्का’ हो। यो छेपारो विश्वमा सबैभन्दा पहिले सन् १९९८ मा नेपालको महोत्तरी जिल्लाको बर्दिबासमा रेकर्ड गरिएको थियो। यो संसारमै नेपालको मधेश प्रदेशमा मात्रै पाइन्छ।
डार्क सिटानाको भालेको घाँटी पङ्खा जस्तो आकारको हुन्छ र प्रजननका वेला घाँटीको छालालाई भित्र-बाहिर तन्काउने गर्छ। पोथी सिटानाले भने त्यस्तो गर्दैन।
यो छेपारो दिउँसो सक्रिय हुन्छ। अरू वेला ससाना दुलामा लुकेर बस्छ।मानिसहरूलाई यो छेपाराले काँक्रो, फर्सी, टमाटर आदिको फूल खान्छ अनि बालीको नाश गर्छ भन्ने भ्रम छ। तर, यो छेपारो पूर्णतः मांसाहारी हो।
छेपारो विषालु हुन्छ भनेर कहिलेकाहीं मानिसहरू यिनलाई मार्न तम्सन्छ्न्। जबकि नेपालमा हालसम्म पाइएका कुनै पनि छेपाराको प्रजाति विषालु भने छैन।
यो छेपाराले ससाना कीरा, पुतली, माकुरा, फट्याङ्ग्रा खाई खाद्यचक्र सन्तुलनमा राख्छ। तथापि अध्ययन अनुसन्धानको कमी तथा यकीन आनीबानीबारे विस्तृत जानकारी नभएको कारण यसको संरक्षणमा चुनौती छ।
यस्तै, यो छेपारो रेकर्ड भएको एक मात्र स्थान बर्दिबास क्षेत्र दिनानुदिन शहरीकरणको चापमा परेकाले र बर्दिबास आसपासको वासस्थानमा समेत विनाश, डढेलो र भूक्षयीकरण बढ्दै गएकाले विश्व संरक्षण संघ (आईयूसीएन)ले यस छेपारालाई ‘अति सङ्कटापन्न’ सूचीमा राखेको छ।
मधेशको पहिचान बोकेको छेपारोको संरक्षण गर्नुपर्छ भन्ने हेतुले हेर्पेटोलोजिस्ट सन्तोष भट्टराई र उनको टीमले ‘कन्जर्भेशन एन्ड इकोलोजी अफ डार्क सिटाना इन नेपाल’ प्रोजेक्ट पनि शुरू गरेका छन्, जसबाट यो छेपाराको संरक्षण र अनुसन्धानमा टेवा पुगिरहेको छ। यो प्रोजेक्टले मधेश प्रदेशका विद्यालय र समुदायमा यो जीवबारे जनचेतना पनि फैलाइरहेको छ।
मधेश प्रदेश नेपालको सबैभन्दा कम वन क्षेत्र भएको प्रदेश हो।वन्यजन्तु संरक्षणका लागि पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्ष आसपास केही कार्य भए पनि यस प्रदेशमा कार्यरत सरकारी निकाय र संघसंस्था समेत यो छेपाराबारे अनभिज्ञ छन्।
यस छेपारोलाई संरक्षणको प्राथमिकतामा राखेर व्यापक प्रचार गर्न सके विश्वभरका वैज्ञानिक, अनुसन्धानकर्ता, विद्यार्थी, छेपारोप्रेमी नेपालमा आकर्षित हुन सक्छन्।