शेयरको किनबेचमा कर नबढाउने सहमति
अर्थ मन्त्रालयले शेयर कारोबारमा पूँजीगत लाभकर नै अन्तिम कर हुने बताएको छ।
मन्त्रालयले आइतबार सूचना निकालेर पूँजीगत लाभकरका सम्बन्धमा साविककै कानूनी व्यवस्था कायम रहेको उल्लेख गरेको हो।
शेयर लगानीकर्ताले आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित पूँजीगत लाभकर सम्बन्धी व्यवस्थाको विरोध गर्दै आन्दोलन घोषणा गरेपछि मन्त्रालयले लगानीकर्तासँग छलफल समेत गरी सहमति गरेको छ। शेयर लगानीकर्ताले ब्रोकर कार्यालयमा ताला लगाएर शेयरको किनबेच नै बन्द गराएका थिए।
गत साता संसद्मा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट (आर्थिक विधेयक)ले प्राकृतिक व्यक्तिले शेयर बिक्रीमा प्राप्त लाभमा पूँजीगत लाभकरका अतिरिक्त ३९ प्रतिशतसम्म आयकर तिर्नुपर्ने व्यवस्था गरेको भन्दै लगानीकर्ता आन्दोलित थिए।
मन्त्रालयले भने प्राकृतिक व्यक्तिका हकमा ५ र ७.५ प्रतिशतको पूँजीगत लाभकर नै अन्तिम कर भएको बताएको छ। बजेटमा शेयर बजारमा नियमित कारोबार गरेर नाफा कमाउनेका लागि यस्तो व्यवस्था गरिएको बताउँदै आएको थियो।