पृथ्वीनारायणले किन फेरे गोत्र?
कट्टर हिन्दू राजा पृथ्वीनारायणले गोरखा राज्यको विस्तार गर्दा अन्य राज्यका सहगोत्री शासकलाई मारकाट गर्नुपर्ने र यस्तो गर्न धर्मले लगाएको प्रतिबन्ध छल्न भारद्वाजबाट काश्यप गोत्र धारण गरेको मान्न सकिन्छ।
पृथ्वीनारायण शाह विसं १७९९ मा राज्याभिषेक लगत्तै दलबल सहित बनारस भ्रमणमा निस्किए। भ्रमणको प्रयोजन बाहिरी रूपमा आध्यात्मिक जस्तो देखिए पनि अन्तर्यमा राजनीतिक थियो। त्यति वेला ज्ञानको केन्द्र मानिने बनारसमा धार्मिक गतिविधिसँगै भूराजनीतिक सूचना पनि प्रशस्त पाइन्थे।
पृथ्वीनारायणले तीर्थयात्रामा बनारस नै आइपुगेका जाजरकोटी राजा हरि शाहसँग धर्मपत्र गरेर राजनीतिक सम्बन्ध स्थापित गरे। पछि जाजरकोट नेपालको ‘सगुता’ राज्यका रूपमा कायम रह्यो। बनारसमै पृथ्वीनारायणले गोरखाली शाहराजाहरूले पुस्तौंदेखि चलाउँदै आएको भारद्वाज गोत्र बदलेर काश्यप बनाए।
उनले मणिकर्णिकामा स्नान गरी पिण्डदान गरे। त्यसपछि गोदान, अश्वदान, भूमिदान, सुवर्णदान, ताम्रदान आदि गरेर आदेश दिए, ‘हिजो भारद्वाज गोत्र थियो, त्यो गोत्र अबदेखि हाम्रा गोर्खाली शाही जति छन् सबैले काश्यप गोत्र चलाउनू, किन भने हाम्रा शाही आठ टीका छन्, त्यसमा सात टीका उठाई एकै टीका गर्नका लागि हो त्यही कारणले गोत्र फेर्नुपरेको हो।’ पृथ्वीनारायणको बनारस भ्रमणपछि गोरखाली शाहहरूको गोत्र भारद्वाजबाट काश्यप हुन पुग्यो (योगी नरहरिनाथ, इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह, भाग १, २०५५ः१५)।
गोरखाली शाह राजाका पुर्खा
इतिहासकार महेशराज पन्तले गोरखाली राजवंशलाई ‘हिन्दु धर्मको रक्षा गर्न भनी राजपुतनाबाट पहाड पसेर प्रख्यात भएको’ भनी उल्लेख गरेका छन् (पूर्णिमा, पूर्णाङ्क ६३-चैत्र, २०४१ः५)। राजपुतना भारततिर पर्छ भने पहाड नेपालमा। यसबाट गोरखाली राजवंशको पुर्खा भारतबाट नेपाल पसेको देखिन्छ।
इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार पृथ्वीनारायणभन्दा अघिका पन्ध्रौं पुस्तामा जैन खान देखिएका छन्। त्यसअघिका पुस्ता भने स्पष्ट छैनन्। जैन खानको तेस्रो पुस्तामा मिचा खान, छैटौंमा द्रव्य शाह, आठौंमा राम शाह र चौधौं पुस्तामा नरभूपाल शाह देखा परे (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी, २०६१ः५)।
सबैभन्दा पहिले जैन खानले कालीगण्डकीको बायाँ किनारस्थित लसर्घामा वास जमाए। त्यसपछि आँधीखोलाको दायाँ किनारस्थित खिलुङ नामको बन्जर जमीनमा आवाद गराई रैती राखेर विसं १५५८ तिर भीरकोट राज्य खडा गरे। जैन खानका छोरा सूर्य खान थिए। उनका दुई छोरा खान्चा र मिचा खान भए। सूर्यले आवाद गरेका तनहुँ र गरहुँ दुई राज्य खान्चाले लिए। पछि उनले पनि ती राज्य दुई छोरालाई बाँडिदिए। मिचाले तेस्रो राज्यका रूपमा नयाँ कोट बनाएकाले नुवाकोट नाम रहन पुग्यो। यो तत्कालीन कान्तिपुर अन्तर्गत पर्ने र पृथ्वीनारायणले जितेर लिएको नुवाकोट नभई चौबीसी राज्य अन्तर्गत पर्ने राज्य (हाल स्याङ्जामा) हो।
खान्चाका वंशधरमध्ये एक जेठा भाइले भीरकोटबाट ढोर नामको अर्को सानो राज्य छुट्याएपछि ‘खान’ थरका पाँच राज्य बनेको देखिन्छ। यस्तै मिचाका अर्का छोरा विचित्रले कास्की प्रदेशलाई राज्य बनाए। लमजुङका दुराहरूले कस्केली राजासँग उनका छोरा यशोब्रह्मलाई मागेर लमजुङको राजा बनाए। विचित्रका उत्तराधिकारी नरराजले ‘खान’ छाडेर ‘शाही’ उपाधि लिंदा यशोब्रह्म पनि ‘शाही’ कहलाए।
यशोब्रह्मले जेठा छोरा नरहरिलाई आफ्ना साथमा राखे भने माहिला द्रव्यलाई मर्स्याङ्दी र चेपे नदी पूर्वतिरको भागमा बस्ती बसाउन खटाए। पछि उनले गोरखामा पनि आधिपत्य कायम गरी त्यहीं राज्य चलाउन थाले (आचार्य, २०६१ः६-७)। उनै द्रव्यका सन्तति गोरखाली राजवंश कहलाए। त्यही वंशमा पृथ्वीनारायणको जन्म भएको हो।
के हो गोत्र?
सनातनी हिन्दू धर्मावलम्बीले आफ्ना पुर्खा मान्ने सप्तर्षि र अगस्ति ऋषिका नामबाट गोत्र राख्ने गरेका छन्। अर्थात्, मूल ऋषिबाट शुुरू भएर सन्तान-दरसन्तान हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो। वैदिक कालमा ऋषिमुनिहरूले सन्तति पहिचानका लागि आफ्नो नामलाई सङ्केतका रूपमा प्रयोग गर्ने प्रणाली बसालेका थिए। विभिन्न थरमा विभाजन भए पनि एउटै गोत्रका मानिसलाई ‘सहगोत्री’ भनिन्छ। एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष हुने भन्दै सहगोत्रीबीच विवाह गर्न नहुने मान्यता छ। शास्त्रहरूले सहगोत्रीको हत्या पनि वर्जित गरेका छन्।
गोरखाली राजवंशमा पृथ्वीनारायणपूर्व चलाइने गरेको ‘भारद्वाज’ गोत्रका प्रवर्द्धक भरद्वाजलाई ऋग्वेदमा प्रभावशाली ऋषि भनिएको छ। उनका बाबु बृहस्पति, बाजे लोक र बराजु अङ्गिरा हुन्। अङ्गिरालाई अङ्गिरस पनि भनिन्छ। उनको इन्द्रसँग घनिष्ठ सम्बन्ध थियो। त्यसभन्दा बढी उनको सम्बन्ध अग्निसँग थियो (जनकलाल शर्मा, हाम्रो समाजः एक अध्ययन -२०३९ः२१६-१७)।
पृथ्वीनारायणले धारण गरेको काश्यप गोत्रका प्रवर्द्धक कश्यप चाहिं मरीचिका मानसपुत्र तथा ब्रह्माका नाति मानिन्छन्। उनी गृहस्थ ऋषि रहेको र उनका अनेक पत्नी रहेको कुरा पुराणमा उल्लेख छ। उनलाई प्रजापति अर्थात् सृष्टिविस्तारकका रूपमा पनि लिइन्छ। जसलाई आफ्नो गोत्रबारे ज्ञान छैन, तिनले काश्यप गोत्र लिएर देवपितृकार्य गरे हुने शास्त्रीय प्रावधान छ (श्रीहरि रूपाखेती, नेपाली थर-गोत्र-प्रवर कोश -२०७८ः७७)।
यस्तोमा गोत्र थाहा नहुनेले काश्यप धारण गर्नु स्वाभाविक रहे पनि पृथ्वीनारायणले बनारसमा शाहीहरूका आठ राज्यलाई एउटैमा ल्याउन गोत्र फेर्नुपरेको तर्क गरेका थिए। जैन खानका सन्तानले समयक्रममा बाँडीचुँडी गर्दा कायम हुन पुगेका भीरकोट, सतहुँ, गरहुँ, ढोर, नुवाकोट, कास्की, लमजुङ र गोरखा नै ती आठ राज्य हुन्। कास्की, लमजुङ र गोरखाका राजा पहिल्यै शाही बनेका र बाँकी पाँच राज्यका राजा खान कहिंदै आएकोमा पृथ्वीनारायणको समयदेखि नुवाकोटका खान पनि शाही बनेका थिए।
यस्तोमा गोत्र फेरेकै भरमा सात राज्य एउटै बन्छन् भन्ने चाहिं थिएन। किनकि आज पनि गोरखाको राजकुलका सदस्यले मात्र काश्यप गोत्रमा व्यवहार गर्छन्, भीरकोटदेखि लमजुङसम्मका ठकुरी र गोरखामै रहेका शाहीले त भारद्वाज नै चलाउँछन् (आचार्य, २०६१ः१३५)।
गोत्र फेर्नुअघि नै पृथ्वीनारायणले मकवानपुरकी सेन राजकुमारी इन्द्रकुमारीसँग विवाह गरेका थिए। मकवानपुरी सेनहरू पाल्पाली सेनकै सन्तान हुन्। बाबुराम आचार्यले पूर्णिमा, पूर्णाङ्क २७ (असोज २०२९ः१६३)मा उल्लेख गरे अनुसार पाल्पाली सेनहरूको गोत्र काश्यप हो। यस अनुसार गोत्र परिवर्तन गर्दा पृथ्वीनारायण र इन्द्रकुमारी सहगोत्री पर्न गएको देखिन्छ।
अर्कातिर, पृथ्वीनारायणकी कान्छी महारानी नरेन्द्रलक्ष्मीका पिता दयाराम सिंहको गोत्र भारद्वाज देखिएको छ। नरभूपाल शाहको व्रतबन्धमा गोकुलविलास पाँडेले मन्त्र सुनाउँदा उनलाई आफ्नै गोत्रमा मिलाई काश्यप बनाएको झलक पाइए पनि यस विषयमा पक्का प्रमाणको अभाव छ (आचार्य, २०६१ः१३६)।
परिवर्तनको कारण
पृथ्वीनारायणले आठ राज्य एउटैमा रहनुपर्ने कारण देखाए पनि जैन खानका सन्तान खान र शाही ठकुरीको गोत्र एउटै बन्न सकेन। खासमा उनले यी राज्यलाई एउटैमा विलीन गराउन युद्ध गर्नुपर्ने र शास्त्रले सहगोत्रीलाई मारकाट गर्न रोक लगाएकाले त्यस्तो ‘पातक’ बाट बच्ने ध्येयले गोत्र फेरेको हुन सक्ने देखिन्छ।
अर्कातिर, कान्छी महारानीका बाबु सहगोत्री परेकाले आफ्नो गोत्र परिवर्तन गरेका हुन् कि भन्ने अनुमान पनि लगाउन सकिन्छ। तर, सनातनी हिन्दू धर्मावलम्बीमाझ वैवाहिक सम्बन्ध कायम हुनुभन्दा पहिले गोत्र हेर्ने चलन अनिवार्य जस्तै छ। यस्तोमा राजकुलमा र त्यसमा पनि युवराज पृथ्वीनारायणको विवाह निश्चय गरिंदा गोत्र ख्याल गरिएन होला त?
पृथ्वीनारायणको दोस्रो विवाहका लागि जेठी आमा महारानी चन्द्रप्रभावतीले पण्डित भानु जोशी अर्ज्याललाई बनारसतिर खटाएकी थिइन्। उनले काशी (बनारस)मा रहेका जयमङ्गल पण्डितलाई समेत भेटेर रजपुतपुत्री नरेन्द्रलक्ष्मीको डोला लिएर गोरखा आएका थिए (प्राचीन नेपाल, सङ्ख्या २१-कात्तिक २०२९ः९)। त्यो समयको गोरखा दरबारका नाम चलेका पण्डितले नरेन्द्रलक्ष्मीको माइती खलकको गोत्र नसोध्ने प्रश्नै उठ्दैन। उसै त पृथ्वीनारायण सनातनी हिन्दू धर्मका कट्टर अनुयायी रहेको उनकै उपदेशले पुष्टि गर्छन्। उनले आफ्नो उपदेशमा ‘यो असिल् हिन्दुस्थाना हो. आफ्ना कुलाधर्म नछोड्नु’ भनेका थिए (बाबुराम आचार्य र योगी नरहरिनाथ, बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश -२०६१ः५१)।
लमजुङसँग खटपट
यशोब्रह्म शाहका छोरामध्ये नरहरिका वंशजले लमजुङमा राज्य चलाए भने द्रव्यका वंशजले गोरखामा। यी दुई राज्यबीच वेलावेला झगडा परिरहन्थ्यो। डोला लिन ससुराली मकवानपुर पुगेर रित्तो हात फर्कंदा चन्द्रागिरिको डाँडाबाट नेपाल उपत्यकालाई हेर्दै त्यहाँको पनि राजा बन्ने सपना बुनेका पृृथ्वीनारायणले यसबारे मामा उद्योग सेनसँग गरेको सल्लाह यहाँ प्रासङ्गिक हुन सक्छ।
पाल्पाली राजा गन्धर्व सेनका छोरा उद्योग गोसाइँकुण्ड, पशुपतिनाथको दर्शन गर्न देवघाटको बाटो जाँदा गोरखकालीको पनि दर्शन गर्न भनी गोरखा पुगेका थिए। भान्जाले नेपालको राजा हुने चाहना सुनाउँदा उनले कूटनीतिक उपाय सुझाउँदै ‘लमजुन् भन्याको गरुड हो, गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुतो हो. अघी गरुडको आषा छलनु. अव सर्पले भ्यागुतो षान पाउ छ’ भनेका थिए। यसै अनुसार पृथ्वीनारायणले पनि ‘उनै अर्ति लिँया र लमजुंग्या राजा रिपुमदन साहसित भेट गर्न गया...घाहा बांधुला भंने जढ कुरो मेरो पेटमा थियो सोहि जढ कुरो कालु पांडेले गर्यो घाहा वलियो बस्यो’ भन्ने धारणा व्यक्त गरेका थिए (आचार्य र योगी,२०६१ः३६-३७)।
उद्योगले ‘नेपाल लिनु छ भने पहिले लमजुङसँग सन्धि सम्बन्ध बलियो बनाई थामिराख्न’ दिएको सुझाव पछ्याउँदै पृथ्वीनारायणले आफू युवराज छँदै कालु पाँडेको साथ लिएर विसं १७९६ माघ ११ गते लमजुङसँग सन्धि गरेका थिए। नरभूपाल शाहले लमजुङका राजालाई लेखिदिएको उक्त सन्धिपत्रमा ‘गोरखा र लमजुङले सधैं मिलेर बस्नू, अरूको कुरा सुनेर झगडा नगर्नू, अर्घौंको काम गर्नु, २ वर्षभित्र काठपात कास्कीलाई बुझाइदिनू, यो काम गर्दा कास्कीले मानेन भने कास्कीलाई खत्तम पारिदिनू, तनहूँमा हमला नगर्नू, पूर्वको काम गर्नू, गोरखाले यसमा अन्यथा गर्यो भने ४० हजार रुपैया लमजुङले गोरखासँग ढड्नू’ भनिएको छ। (दिनेशराज पन्त, गोरखाको इतिहास पहिलो भाग -२०४१ः२७७)।
सन्धि हुनुअघि दुई राज्यबीच वेलावेलामा खटपट पर्ने गरेको पृथ्वीनारायणलाई राजा हुनुअघिदेखि नै थाहै थियो। नरभूपालकै पालामा लमजुङसँग सिह्रानचोकमा युद्ध भएको थियो। चन्द्ररूप शाह राजाको आदेशमा सेना लिएर गई लमजुङे सेनालाई हटाएका थिए (पन्त, २०४१ः२४४)।
पृथ्वीनारायण युवराज छँदै गोरखा दरबारको राजकाजमा सक्रिय हुन थालिसकेका थिए। यही क्रममा विसं १७९६ मा विद्यापति उपाध्यायलाई लेखेको पत्रमा ‘छ बीस (१२०) धुरी झारा लिएर लिग्लिग जाऊ’ भनिएको छ। त्यस वेला लिगलिग नजिकै चेपेपारि लमजुङ राज्य थियो। लमजुङतिरबाट आक्रमण भए धेरैजसो मार लिगलिगमै पर्थ्यो। यसकारण गोरखाली राजाहरू लिगलिगको सुरक्षाका लागि विशेष व्यवस्था गर्थे। लमजुङसँग बराबर खटपट परिरहने हुँदा उससँगको पश्चिमी साँध लिगलिग गढीलाई बलियो बनाउन पृथ्वीनारायणले १७ वर्षकै उमेरदेखि राजकाजमा हात हाल्न थालिसकेका थिए (पन्त, २०४१ः२७६-७७)।
सन्धि भएको २९ वर्षपछि लमजुङ एकाएक गोरखा विरुद्ध युद्धमा उत्रियो। गोरखाले कीर्तिपुर विजय गरेपछि लमजुङका राजा वीरमर्दन शाहले गोरखातर्फ सेना पठाइदिए। सुन्ने बित्तिकै पृथ्वीनारायणले कीर्तिपुरबाट वंशराज पाँडे र श्रीहर्ष पन्थलाई बोलाएर गोरखाली सैन्यदललाई लमजुङ आक्रमण गर्न पठाए।
लमजुङेहरू लाखाजुङमा अडिए भने गोरखाली सैन्य दल चिहानडाँडामा ठाना बारी बस्यो। वंशराजले विसं १८२३ असोज १३ गते लमजुङे सैन्य शिविरमा आक्रमण गरिदिंदा कतिपय भागे भने सेनानायक पारथ भण्डारी लगायत दुई सय ४० जनाले आत्मसमर्पण गरे। त्यसपछि पारथले गोरखाली सैन्य दलमा प्रवेश गरी विभिन्न युद्धमा भाग लिएका थिए ( आचार्य, २०६१ः३०७-८)।
यी दुई राज्यबीच पुनः सन्धि हुन सकेन। गोरखाले वरपरका एकपछि अर्को राज्यमा आधिपत्य जमाउन थालेपछि लमजुङ झस्कनु स्वाभाविक थियो। त्यसैले लमजुङ अन्य राज्यसँग मिली गोरखा विरुद्धको मोर्चामा सहभागी भएको पाइन्छ। पृथ्वीनारायणले आफ्नो जीवनकालमा पश्चिमतिरका राज्य गाभ्न सकेनन्। यो अभियानमा नाति रणबहादुर शाह राजा हुँदा उनको नायबी लिएर शासन गर्ने राजमाता राजेन्द्रलक्ष्मी र राजकुमार बहादुर शाहको समयमा मात्र सफलता मिल्यो।
यसै क्रममा लमजुङले शक्तिशाली राज्य पर्वतसँग मिलेर गोरखाको सिमानाभित्रको झिमरेकमा एक पटक दखल जमाएको थियो। पर्वते राजा कीर्तिबम मल्ल पनि स्याङ्जासम्म आई त्यसतर्फ चौबीसी राज्यका सेना पठाउँदै थिए। गोरखालीका तर्फबाट बलभद्र शाह आफ्नो सैन्य दलसाथ सिह्रानचोकमा तैनाथ थिए।
यसैबीच लमजुङेहरूले सिह्रानचोक आक्रमण गरिदिए। गोरखालीले पनि कडा मुकाबिला गरिदिंदा लमजुङेको भागदौड मच्चियो। गोरखाले १८३८ माघ २५ गते झिमरेक लमजुङबाट फिर्ता लिएको थियो (बाबुराम आचार्य, पूर्णिमा, पूर्णाङ्क ५१-चैत्र २०३८ः९-१०)।
राजेन्द्रलक्ष्मीको नायबी कालमा चौबीसी राज्यहरू मिलेर गोरखा (नेपाल) विरुद्ध आक्रमण गरेका थिए। त्यस वेला लमजुङ र पर्वतले गोरखासँग राम्रो सम्बन्ध भएको कास्कीलाई पनि आफ्नो गठबन्धनमा ल्याए। उनीहरू तनहुँको सिजुङमा ठाना बनाई बसेका गोरखाली सेनालाई धपाएर सिह्रानचोकतिर अघि बढेका थिए। त्यतिखेरै कास्कीका राजा सिद्धिनारायण शाहले युद्धमैदानबाट हात झिके। दुई पक्षबीच चिप्लेटीमा घमासान युद्ध भयो।
झिमरेक र सिजुङमा भएको युद्धमा चौबीसीहरूको हार भयो। चौबीसीहरूको एकता भत्किँदै जाँदा वंशराज पाँडेले विसं १८३९ मा लमजुङको राजधानी घेराउ गरिदिए। तब तनहुँ र लमजुङका राजा मनाङको बाटोबाट भाग्दै पर्वतमा दाखिला भएर रामनगर पुगे। लमजुङका तत्कालीन राजा वीरमर्दनका छोरा वीरभूपाल भने परिवारसाथ लमजुङमै थिए। उनीहरू काशीवास गएपछि विसं १९३९ कात्तिक १८ गते लमजुङ पूर्णतः गोरखाको अधीन आयो (डा. राजाराम सुवेदी, प्राचीन नेपाल सङ्ख्या १५० -असार २०५९ः५६)।
यसरी वंशज र साँधका हिसाबले अत्यन्तै निकट भारद्वाजगोत्रीय शाह ठकुरी राज्य लमजुङ लामो प्रयासपछि काश्यपगोत्रीय राजवंश कायम भएको गोरखाको आधिपत्यमा आयो। पृथ्वीनारायणले गोत्र परिवर्तन गर्ने वेला भनेका अन्य सात टीका (राज्य) भीरकोट, सतहुँ, गरहुँ, ढोर, नुवाकोट, कास्कीलाई पनि उनका उत्तराधिकारीले गोरखाको अधीन ल्याए।
तीमध्ये कास्की राज्य १८४२ जेठ अन्तिमतिर गोरखाको अधीन आएको हो (बाबुराम आचार्य, पूर्णिमा, पूर्णाङ्क ६०-माघ २०४१ः३८)। यस्तै, भीरकोट १८४२ साउन २, गरहुँ १८४२ असार १६, ढोर १८४२ असार २० र सतहुँ १८४२ असार ७ गते गोरखामा गाभिए भने नुवाकोट १८४० फागुन २० गते नै अधीन आइसकेको थियो (डा. राजाराम सुवेदी, प्राचीन नेपाल सङ्ख्या १५२ -फागुन २०५९ः३०, ३३, ३६, ३९ र ४२)।
यसरी हेर्दा पृथ्वीनारायणले सहगोत्रीहरूले चलाएको राज्य हात लिंदा सम्भावित गोत्रहत्याको पाप वेलैमा पखालेर परत्र सुधार्न पनि गोत्र परिवर्तन गरेका हुन् भन्न सकिन्छ।