नेपालले जित्यो द्विदेशीय टी-२० शृङ्खला
मलेशियालाई तीन विकेटले हराउँदै नेपालले द्विदेशीय टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
मलेशियामा आइतबार भएको पाँचौं खेलमा नेपाल तीन विकेटले विजयी भएको हो। यो जितसँगै नेपालले टी-२० शृङ्खला जितेको छ। पाँच खेलको शृङ्खलामा नेपालले तीन र मलेशियाले दुई खेल जितेका हुन्।
अन्तिम खेलमा मलेशियाले दिएको ११० रनको लक्ष्य नेपालले सात विकेट गुमाएर १९.२ ओभरमा पूरा गरेको छ। नेपालका लागि सीता राना मगरले ३४, रुबिना क्षेत्रीले २३, अप्सरी बेगमले १३ र ज्योति पाण्डेले ११ रन बनाए।
मलेशियाका लागि अन्ना हमिजाह हसिमले दुई, महिरा इस्माइल, विनफ्रेड दुरैसिगम, अइसा फिरदुइज र नूर दानियाले एक-एक विकेट लिइन्।
यसअघि ब्याटिङ गरेको मलेशियाले पाँच विकेटको क्षतिमा १०९ रन बनाएको थियो। मलेशियाका लागि वान जुलियाले ४७, विनफ्रेड दुरैसिगमले २४ र महिरा इस्माइलले २० रन बनाएका थिए।
नेपालका लागि कविता जोशीले दुई र ईश्वरी विष्टले एक विकेट लिएका थिए।
पाँच खेलको शृङ्खलामा पहिलो खेल मलेशियाले पाँच विकेटले जितेको थियो। दोस्रो खेलमा नेपालले मलेशियालाई सात विकेटले पराजित गरेको थियो।
त्यस्तै, तेस्रो खेलमा नेपालले २७ रनले जित हासिल गरेको थियो भने चौथो खेलमा मलेशियाले चार विकेटले जितेको थियो। पाँचौ अर्थात निर्णायक खेलमा नेपालले मलेशियालाई तीन विकेटले पराजित गर्दै शृङ्खला जितेको हो।