राष्ट्रपतिको विरोध गर्दा संवैधानिक पथमा बाधा उत्पन्न हुन्छ: कांग्रेस
नागरिकता विधेयक प्रमाणीकरणबारे राष्ट्रपति रामचन्द्र पौडेलको विरोध गर्दा संवैधानिक पथमा बाधा उत्पन्न हुने नेपाली कांग्रेसको दाबी छ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले संसद् र संविधानको सम्मान र संरक्षण गरेको जनाएका छन्। विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विधेयकमै संविधानको धारा ११३ (४) बमोजिम प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सुझाई सबै प्रक्रिया पूरा गरी आएको विधेयक जस्ताको त्यस्तै प्रमाणीकरण गरिएको स्पष्ट विषयको आफूखुशी अर्थ लगाई जनतामा भ्रम फैलाउन खोजिएको कुराले संवैधानिक पथमा बाधा उत्पन्न गर्दछ।’
त्यस्तै, टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयमा पनि कांग्रेसले राष्ट्रपतिको बचाउ गरेको छ। कांग्रेसले भनेको छ, ‘ज्यान मुद्दामा सजाय पाएका बालकृष्ण ढुंगेललाई एक दिन पनि सजाय नकाटी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिंदा सन्चो मानेर बस्नेहरू आफू घटनामा उपस्थित नै नरहेको र केवल उत्पीडन र विभेदमा परेका थारू समुदायको अधिकारको आवाजको नेतृत्व मात्र गरेका रेशम चौधरीलाई सबै राजनीतिक दलको माग अनुसार मन्त्रिपरिषद्को सिफारिशमा बाँकी कैद मिनाहा गरी माफी दिंदा राष्ट्रपति संस्थामाथि नै आक्षेप लगाउँदै हल्ला मच्चाउनु कति उपयुक्त हो?’