दबाब सहन नसकेपछि हेटौंडा उपमहानगरले दियो गर्मी बिदा
हेटौंडा उपमहानगरपालिकाले अभिभावक तथा सरोकारवालाको अत्यधिक दबाबपछि गर्मी बिदा दिएको छ।
‘बालमैत्री स्थानीय शासन’ घोषणाको तयारीमा लागेको हेटौंडा उपमहानगरपालिका बालबालिकाको सवालमा महत्त्वपूर्ण निर्णय गर्न भने पटक पटक चुक्दै आएको छ। पछिल्लो उदाहरण हो- गर्मी बिदा।
पछिल्लो साता हेटौंडा आसपासमा ह्वात्तै गर्मी बढेर जनजीवन कष्टकर भइरहेको वेला विद्यालय बन्द गर्ने वा चलाउने सवालमा उपमहानगर मौन रह्यो। अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा बान्ता हुने, थकान महसूस हुने साथै बेहोस समेत हुने समस्या देखिएको थियो। बालबालिकालाई विद्यालयमा उपस्थित गराई पठनपाठन गराउन नसक्ने अवस्थामा समेत उपमहानगर गैरजिम्मेवार भएको भन्दै सरोकारवाला र अभिभावकबाट चौतर्फी दबाब समेत सिर्जना भयो।
अन्ततः शनिबार अबेर सूचना जारी गर्दै हेटौंडा उपमहानगरले आजबाट विद्यालय बन्दको घोषणा गरेको छ। शैक्षिक सत्र २०८० को वर्षे बिदाबाट कट्टी हुने गरी मिति जेठ २१ गतेदेखि जेठ २६ गतेसम्म उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द रहने भन्दै मेयरको आदेश अनुसारको बेहोराको सूचना जारी गरिएको हो।
बिदाका समयमा बालबालिकालाई दिउँसो घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षित रहने व्यवस्था मिलाउन, रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्न, पोषणयुक्त खाना खुवाउन, जंक फूड, स्वास्थ्यलाई प्रतिकूल असर गर्ने खानेकुरा खान नदिन/नखुवाउन, स्वच्छ पानी पिउने व्यवस्था मिलाउन समेत सूचनामा भनिएको छ।
गत शुक्रबारको नगर कार्यपालिकाको बैठकमा विद्यालय बन्दको निर्णय गर्ने अधिकार वडालाई दिइएको थियो। सोही अनुसार शनिबार वडा नम्बर ४, ५ र १० ले विद्यालय बन्दको निर्णय गरिसकेका थिए। वडाको उक्त निर्णयपछि बल्ल उपमहानगरले सूचना जारी गरेको थियो।
यता, हतार र दबाबमा बिदा दिने निर्णय गरिएपछि शिक्षकहरूले त्यसलाई ‘अदूरदर्शी निर्णय’ भनेका छन्। “यही निर्णय शुक्रबार स्कूल टाइमभित्र गरिदिएको भए प्रभावकारी हुन्थ्यो। एक साताको गृहकार्य दिन पाइन्थ्यो, बालबालिका सिकाइ क्रियाकलापमा लाग्थे। कार्यपालिकाको बैठकमा वडालाई जिम्मा दिने फेरि शनिबार सूचना दिने नाटक नै छ,” श्रमिक मावि हेटौंडाका प्रधानाध्यापक श्रीराम दाहालले भने।
यस्तै, मकवानपुरको बकैया गाउँपालिकाले पनि गर्मीका कारण एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार गाउँ शिक्षा समितिको बैठकले एक साताका लागि पालिकाका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको हो।
यसैगरी, मनहरी गाउँपालिकाले बिहान पठनपाठन गराउने निर्णय गरेको छ। तर, यसो गर्दा बालबालिकालाई पर्याप्त आरामको अवस्था नहुने भन्दै यसको पनि विरोध भइरहेको छ।
हेटौंडा नगरभित्र ७३ वटा सामुदायिक र ४८ वटा संस्थागत विद्यालय छन्। शनिबार हेटौंडामा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको थियो।