बेपरवाह पाठक प्रतिक्रिया
नेपाली अनलाइन न्यूज पोर्टलहरूमा पाठक प्रतिक्रियाका लागि निश्चित नियम र मापदण्ड नहुँदा डिजिटल विकार र मिथ्या सूचनाको विस्तार भइरहेको छ।
अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचार, लेख वा सम्पादकीय मुन्तिर प्रायः प्रतिक्रिया लेख्ने सुविधा पाठकलाई हुन्छ। त्यो सुविधाको प्रयोग गर्दै पाठकले सम्बन्धित समाचारमा आफ्ना विचार, प्रश्न वा आलोचना लेख्छन्। पत्रपत्रिकाका पृष्ठमा सीमित स्थान हुने भएकाले छानिएका केही पाठक प्रतिक्रिया मात्रै छापिन्छन्। तर, अनलाइन पोर्टलमा ठाउँको समस्या हुँदैन। त्यसैले पाठकहरूले जेजति लेख्छन्, प्रायः ती सबै प्रकाशन हुन्छन्।
स्थान पर्याप्त भएकाले पाठकका सबै प्रतिक्रिया प्रकाशन भएका होइनन्। जनशक्तिको अभाव भएकाले वा पाठकका प्रतिक्रियालाई बेवास्ता गरिनाले ती प्रतिक्रिया थुप्रिएका हुन्। बहुसंख्यक अनलाइन पोर्टलमा अनेक नामका विभिन्न पद देखिन्छन्- प्रधान सम्पादक, प्रबन्ध सम्पादक, कार्यकारी सम्पादक, समाचार सम्पादक, सहसम्पादक, उपसम्पादक आदि। तर, ती देखाउने दाँत मात्रै हुन्। खास काम गर्ने पत्रकार एक-दुई जना मात्रै हुन्छन्। यति थोरै जनशक्तिलाई पाठकले के लेख्दै छ भनेर हेर्ने फुर्सद हुने कुरै भएन।
खासमा अनलाइन मिडिया सबैभन्दा खर्चिलो मिडिया हो। तर, हामीले सबैभन्दा सस्तो हिसाबले चलाइदियौं। पुगनपुग तीन करोड जनसंख्या भएको देशमा करीब चार हजार अनलाइन सरकारी निकायमै सूचीकृत छन्। त्योभन्दा धेरै न्यूज पोर्टल र अनलाइन टीभीले विना दर्ता समाचार प्रकाशन/प्रसारण गर्छन्। यसलाई गएको दशकमा आएको अनलाइन सञ्चारमाध्यमको बाढी नै भने पनि हुन्छ। यो बाढीमा पाठक प्रतिक्रियामा आउने विचार, प्रश्न र आलोचनाले कुनै मूल्य पाइरहेका छैनन्।
ताल तालका प्रतिक्रिया
साना त साना भइगए, ठूलो लगानी गरेका अनलाइन सञ्चार संस्थाहरूले पनि पाठक प्रतिक्रियालाई महŒव दिएका छैनन्। पाठकले जेसुकै लेखोस्, जस्तोसुकै भाषामा लेखोस्, जतिसुकै लेखोस्, जोसुकैलाई गाली गरेर लेखोस्, जहिलेसुकै लेखोस् भन्ने अवस्था छ। पाठक प्रतिक्रियालाई नियमन गर्ने न मान्छे छ, न नीति (हे. तालिका)।
समाचार, विचार वा सम्पादकीयमा प्रतिक्रिया दिनु भनेको त्यसै विषयसँग सम्बन्धित क्रिया वा प्रतिक्रिया, समर्थन वा खण्डन, थप जानकारी वा त्रुटि पहिचान आदि लेखेर (वा बोलेर) सम्पादकीय समूहलाई जानकारी गराउनु हो। तर, सम्बन्धित सामग्रीले उठाएको विषयसँग असम्बन्धित टिप्पणी पनि प्रकाशन भएकै छ। समाचार निकै चर्चित (भाइरल) हुने किसिमको रहेछ भने प्रतिक्रियाको बक्साभित्रै घरजग्गा व्यवसायी, ज्योतिषी, अनलाइन विक्रेता आदिले पनि आफ्नो ‘बिजनेस कार्ड’, फेसबूक पेज वा वेबसाइटको लिंक सहित विज्ञापन गर्न भ्याउँछन्।
प्रतिक्रिया लेख्नेको भाषा अनेक थरीको हुन्छ। कोही राम्रै नेपालीमा लेख्छन्, तर ह्रस्वदीर्घ वा सामान्य व्याकरण मिलेको हुन्न। कतिपय अंग्रेजीमा लेख्छन्, तर भाषाको स्तर, हिज्जे र व्याकरण आदि चौपट हुन्छ। कतिपयले अंग्रेजीमा लेख्न जान्दैनन् र नेपाली टाइप पनि आउँदैन। उनीहरू रोमन फन्ट प्रयोग गरेर नेपालीमा लेख्छन्।
अझ कतिपय त घरी नेपाली घरी अंग्रेजी र घरी रोमन फन्टमा नेपाली लेख्छन्। त्यो बुझ्न झन् कठिन छ। अझ कतिपय पाठकले भरमार अश्लील शब्द लेखिदिन्छन्। व्यक्तिको मानमर्दन गर्ने गरी वा झूटा आरोप लगाउने गरी प्रतिक्रिया लेख्नेहरू पनि हुन्छन्।
त्यस्तो लेखाइ पाठक प्रतिक्रिया होइन, फोहोरको डङ्गुर हो। कतिपय अनलाइन पोर्टल पाठकलाई छाडा शब्द ओकल्न दिने मञ्च बनिरहेका छन्। ती स्तरहीन पाठक प्रतिक्रिया पढेर अन्यले निर्लज्ज गाली गर्न सिकिरहेका छन्। कसैले आफ्नो सामाजिक सञ्जालमा के लेख्छ, कसरी लेख्छ, त्यो उसको कुरा हो। तर, आफ्नो अनलाइन प्लेटफर्म अरूलाई दुरुपयोग गर्न दिनु हुँदैन, त्यसको जिम्मेवार हामी आफैं हो।
लेखाइ भनेको सरल, सान्दर्भिक र अर्थपूर्ण हुनुपर्छ। सिलसिला मिलाएर लेख्न जान्ने पाठक थोरै हुन्छन्। के लेख्ने, कति लेख्ने, कस्तो शब्द वा भाषा प्रयोग गर्ने आदिबारे हामीसँग कुनै नीति छैन। एउटा समाचारमा कहिलेसम्म प्रतिक्रिया लेख्न दिने भन्ने सीमा छैन। गत वर्ष प्रकाशित समाचारमा कुनै पाठक यसपालि कमेन्ट गर्दै हुन्छ। सम्बन्धित पत्रकारले पनि कति हेर्ने, कताकता ध्यान पुर्याउने? साध्यै हुन्न। यति शब्दमा लेख्ने, समाचारसँग सम्बन्धित विषयमा मात्रै लेख्ने, सार्वजनिक प्रयोगमा सुपाच्य हुने भाषा प्रयोग गर्ने, व्यक्तिगत आलोचना र लाञ्छना नलगाउने, तथ्यप्रमाण सहित लेख्ने जस्ता आधारभूत मार्गनिर्देशन नदिएर हामीले पाठकलाई पनि बेलगाम र छाडा बनायौं।
सन् २०१४ मा नेपालका प्रमुख अनलाइन न्यूज पोर्टल विद्यमान पत्रकार आचारसंहिता र यसका विश्वव्यापी मान्यता कति आत्मसात् गर्छन्, सर्वसाधारण पाठकप्रति कत्तिको जवाफदेही हुन्छन् भन्ने विषयमा एउटा अध्ययन गरेको थिएँ। अध्ययनमा समावेश १० मध्ये एउटा न्यूज पोर्टलमा मात्रै ‘पाठक प्रतिक्रिया सम्पादन भएर प्रकाशन गरिनेछ’ भन्ने एक वाक्यको नीति थियो। तर, आज एक दशकपछि पनि लगभग पहिलेकै अवस्था छ।
संसारका सबैजसो ठूला सञ्चार संस्थाले पाठक प्रतिक्रियाका लागि मापदण्ड बनाएका छन्। यसले पाठकलाई उत्तेजित हुनबाट रोक्छ, व्यक्तिगत लाञ्छना र गालीगलौजलाई नियन्त्रण गर्छ र मिथ्या सूचना नियन्त्रण गर्न पनि सघाउँछ।
धेरैजसो न्यूज पोर्टलमा प्रतिक्रिया लेख्न पाठकले पालना गर्नुपर्ने कुनै नियम छैन। लग इन गरेर पाठक प्रतिक्रिया लेख्नेले पनि के लेख्न हुन्छ, के हुन्न भन्ने सामान्य जानकारी पाउँदैनन्। आजसम्म नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल लगायत सरकारी वा निजी क्षेत्रको कुनै पनि सरोकारवाला संस्थाबाट पाठक प्रतिक्रियालाई नियमन वा व्यवस्थित गर्ने विषयमा छलफल भएको थाहा छैन।
अन्तर्राष्ट्रिय अभ्यास
इन्टरनेट र यस सम्बन्धी मिडियाहरू लोकतान्त्रिक मञ्चहरू हुन्, यसमा व्यक्ति कुनै प्रकारको अभिव्यक्ति दिन स्वतन्त्र हुन्छ भनिन्छ। तर, यो भनाइ या त अति आदर्शवान् अवस्थाबाट जन्मिएको हो या अति नै अल्छी र बेपरवाह पत्रकारले पाठकका प्रतिक्रियामा कुनै ध्यान दिन नचाहेको अवस्थाबाट आएको छ।
विश्वका सबैजसो प्रतिष्ठित अनलाइन मिडियाहरूले अनलाइन समाचार वा विचार वा सम्पादकीय टिप्पणी आदिमा पाठक प्रतिक्रियाका लागि निश्चित नियम बनाएका हुन्छन्। जस्तै, क्यानेडियन ब्रोडकास्ट कर्पोरेशन (सीबीसी) ले १२ बुँदे नीति बनाएको छ। त्यो नीति हरेक प्रतिक्रिया लेख्ने ठाउँ हाइपरलिंकमा देखिन्छ।
त्यस नीतिका मुख्य प्रावधानमा प्रतिक्रिया सम्बन्धित समाचार सामग्रीसँग सम्बन्धित हुनुपर्ने, कसैलाई व्यक्तिगत लाञ्छना लगाएर लेख्न नपाइने, कुनै जात, वर्ण, भाषा, भूगोल, लिङ्ग, उमेर, शारीरिक अवस्था आदिप्रति अनादर हुने भाषा प्रयोग गर्न नपाइने, अश्लील शब्द वा भाषा, गैरकानूनी कुरा, घृणास्पद अभिव्यक्ति, धम्की, व्यक्तिगत लाञ्छना, अपराध दुरुत्साहन गर्ने कुरा लेख्न नपाइने, अरूको व्यक्तिगत सूचना सार्वजनिक गर्न नपाइने, बेनामे र छद्मनाम प्रयोग गर्न नपाइने लगायत छन्।
बीबीसीका धेरैजसो समाचारमा पाठकलाई सोझै टिप्पणी लेख्ने ठाउँ हुँदैन। समसामयिक र बढी चर्चा पाएका कतिपय विषयमा टिप्पणी गर्न दिइन्छ, तर निश्चित समयपछि समाचारको मुनि सोझै प्रतिक्रिया लिन बन्द गरिन्छ र इमेल, फोन वा चिठीमा प्रतिक्रिया पठाउन भनिन्छ। बीबीसीको पाठक प्रतिक्रिया नीति १८ बुँदामा समेटिएको छ र सीबीसीका प्रायः सबै प्रावधान योसँग मिल्छन्। त्यस बाहेक अदालतको अवहेलना हुने, गैरकानूनी गतिविधिलाई प्रोत्साहन गर्ने, मिथ्या सूचना, सन्दर्भ नमिल्ने विषय, दोहोरिएको प्रतिक्रिया, भाइरसयुक्त लिंक, निर्वाचनको संवेदनशील समयमा कसैका पक्ष वा विपक्षमा प्रचार गर्ने किसिमका प्रतिक्रिया प्रकाशित हुँदैनन्।
त्यस्तै, द न्यूयोर्क टाइम्समा पाठक प्रतिक्रियाका लागि सामान्यतः २४ घण्टाको समय दिइन्छ। त्यसपछि कमेन्ट बक्स बन्द हुन्छ। त्यसपछि पनि कसैले प्रतिक्रिया पठाउन चाहेमा इमेल गर्ने विकल्प हुन्छ। यसो गर्दा सबै समाचार सामग्रीमा केकस्ता प्रतिक्रिया आउलान् भनेर सञ्चार संस्था हरदम सतर्क भइरहनु परेन। सम्पादन नभई कुनै प्रतिक्रिया प्रकाशन हुँदैनन्। पाठक प्रतिक्रियाका लागि मापदण्ड सहितको निर्देशिकाको लिंक दिइएको हुन्छ। त्यसलाई पालना नगर्ने प्रतिक्रिया अस्वीकृत हुन्छन्।
सभ्य समाज निर्माण गर्न इन्टरनेटमा घुमिरहने कलुषित प्रतिक्रियाहरूलाई नियन्त्रण गरिनुपर्छ। अभिव्यक्ति स्वतन्त्रताका नाममा अनलाइन सञ्चारमाध्यमलाई भँडास पोख्ने मञ्च बन्न दिनु हुँदैन।
भारतको द हिन्दूले त प्रतिक्रिया पठाउन चाहने पाठक र सञ्चार संस्थाबीच ‘प्रयोगका शर्त’ शीर्षकमा एउटा सम्झौतामै सहमति जनाउनुपर्ने व्यवस्था गरेको छ। त्यसअघि आफ्नो सही सूचना दिएर लग इन गर्नुपर्छ।
हाम्रो बाटो
संसारका सबैजसो ठूला सञ्चार संस्थाले पाठक प्रतिक्रियाका लागि मापदण्ड बनाएका छन्। यसले पाठकलाई उत्तेजित हुनबाट रोक्छ, व्यक्तिगत लाञ्छना र गालीगलौजलाई नियन्त्रण गर्छ र मिथ्या सूचना नियन्त्रण गर्न पनि सघाउँछ। तर, हामीले पाठकलाई सही प्रतिक्रिया दिन उत्साहित गर्नुको साटो छद्म वा बेनामे प्रतिक्रिया दिन हाम्रो डिजिटल मञ्च उपलब्ध गराइदियौं।
यसले एकातिर पाठकलाई मनमौजी बनाइदिएको छ भने अर्कातिर मिथ्या सूचनाको बढोत्तरीमा भूमिका खेलेको छ। प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, सञ्चार मन्त्रालय, विभिन्न सञ्चार संस्था र संगठनहरू मिलेर तत्कालै पाठक प्रतिक्रिया नियमन र सहजीकरणका लागि निर्देशिका बनाउन जरुरी छ।
सभ्य समाज निर्माण गर्न इन्टरनेटमा घुमिरहने कलुषित प्रतिक्रियाहरूलाई नियन्त्रण गरिनुपर्छ। अभिव्यक्ति स्वतन्त्रताका नाममा अनलाइन सञ्चारमाध्यमलाई भँडास पोख्ने मञ्च बन्न दिनु हुँदैन। गुणस्तरीय पत्रकारिताका लागि पाठक प्रतिक्रियाको छनोट, सम्पादन र नियमन अत्यावश्यक छ।
(डिजिटल सञ्चारमा विद्यावारिधि गरेका आचार्य युनिभर्सिटी अफ अटवा, क्यानाडामा सञ्चार आचारसंहिता पढाउँछन्। हिमालको २०८० जेठ अङ्कबाट।)