स्वदेश फर्किए प्रधानमन्त्री दाहाल
भारतको चारदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन्।
भारतको नयाँ दिल्लीबाट नेपाल एअरलाइन्सको जहाज मार्फत काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। उनी आइतबार साँझ काठमाडौं फर्किएका हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी जेठ १७ गते भारत गएका थिए। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री मोदी लगायत उच्चपदस्थ व्यक्तिसँग भेटवार्ता गरेका थिए।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा दुवै देशको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। यससँगै प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सात वटा सम्झौता भएका थिए।