परराष्ट्र मन्त्री साउँदपत्नी विश्व हिन्दू महासंघको उपाध्यक्ष
भारतको महाकालेश्वर मन्दिरमा १०८ किलो रूद्राक्ष चढाएर चर्चामा रहेका परराष्ट्र मन्त्री एनपी साउँदकी पत्नी ज्योत्स्ना साउँद विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको उपाध्यक्ष रहेकी छन्।
महासंघको केन्द्रीय महासभा तथा आठौं महाधिवेशनबाट ज्योत्स्ना उपाध्यक्षमा चयन भएकी थिइन्। महासंघको महासभा तथा महाधिवेशन गत चैतमा बुटवलमा सम्पन्न भएको थियो।
महाधिवेशनको मूल नारा ‘विश्वभरिका ॐकार परिवारको एक मात्र चाहना, सनातन हिन्दू गुरुराष्ट्र नेपालको पुनःस्थापना’ थियो।
महासंघले ‘राष्ट्ररक्षा र धर्मरक्षाको महाअभियान, हिन्दू राष्ट्र नेपालको एक मात्र पहिचान’ लाई आत्मसात् गर्दै आएको छ। सन् २०१६ मा स्थापना भएको महासंघको ‘केवल कार्यले हामीलाई परिभाषित गर्नेछ (अस्माकं कार्याणि अस्मान्सावधीकरिष्यंति)’ भन्ने दर्शन रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारतको भ्रमणको तेस्रो दिन जेठ १९ मा मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री सहित मन्त्रीहरूले पूजा गरेका थिए। गेरुवस्त्रमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूले पूजा गरेपछि १०८ किलोग्राम रुद्राक्ष पनि चढाएका थिए।
मन्दिरमा चढाएको रुद्राक्ष भने आफूले नलगेको प्रधानमन्त्री दाहालले बताएका छन्। परराष्ट्र मन्त्री साउँदले लगेको रुद्राक्ष चढाउँदा आफूले हात मात्रै लगाएको बताएका छन्।
महाकालेश्वर मन्दिरमा रुद्राक्ष चढाएको विषयले परराष्ट्र मन्त्री साउँद चर्चामा छन्।