नसिम अहमद खानः एक ‘राजनीतिक’ अपराधी !
डाँका, चोरी, अपहरणदेखि आठ जनाको हत्या गरेको अभियोग लागे पनि राजनीतिक पहुँचको कारण संरक्षण पाउँदै आएका नसिम अहमद खान अन्ततः कानूनी दायरामा आएका छन् ।
- विक्रम खड्का
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपराका नसिम अहमद खानका लागि नेपालबाट भारत पानीपँधेरो जस्तै थियो । उनीमाथि डाँका, चोरीदेखि अपहरण, कर्तव्य ज्यानसम्मका अभियोग छन् । त्यसमध्ये ४ फागुन २०७२ मा कपिलवस्तु जिल्ला अदालतले डाँका, चोरी मुद्दामा उनलाई दुई वर्ष तीन महीना कैदको फैसला सुनायो । अदालतको फैसलापछि उनी पिपरासँग जोडिएको भारतको अलिगढमा बस्दै आएका थिए ।
त्यसअघि पनि एकपछि अर्को अपराध गर्दै नसिम कहिले राज्य संयन्त्रकै धाप त कहिले राजनीतिक पहुँचको बलमा कानूनको पञ्जाबाट फुत्किन सफल हुँदै आएका थिए । हिंसात्मक द्वन्द्वकालमा प्रतिकार समूहमा लागेका उनी त्यसपछि सशस्त्र समूह, तत्कालीन नेकपा एमाले हुँदै हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध छन् ।
सबै कुरा अनुकूल हुँदाहुँदै पछिल्लो समय भने उनी काठमाडौं आएका बेला गएको २२ असारमा पक्राउ परे । २३ असारमा उनलाई कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराइयो । डाँका, चोरी मुद्दामा चार वर्षअघि गरिएको ६ महीना कैद र रु.१ लाख ९१ हजार जरिवानाको सजाय भुक्तान गर्न नआएकाले सजाय थपिंदै फैसला भयो । उनीमाथिका सबै अभियोगमा फैसला हुन भने बाँकी छ ।
को हुन् नसिम ?
सामान्य परिवारका नसिमले अपराध कर्मलाई अघि बढाउँदै संरक्षणका लागि मूलधारको राजनीतिलाई ढाल बनाएको देखिन्छ । उनले २०५० सालपछि आपराधिक यात्रा शुरू गरेको प्रमाणहरूबाट देखिन्छ । शुरूआतमा उनी लूटपाट, चन्दा असुली, अपहरण लगायतका गतिविधिमा संलग्न थिए । उनी गाविस सचिव, कार्यालय प्रमुख, ठेकेदारहरूसँग नियमित रूपमा चन्दा असुली गर्थे ।
२०६४ देखि कपिलवस्तुको दक्षिणी भेगमा प्रभाव बढाएका उनी अन्ततः माओवादी विरुद्धको प्रतिकार समूहमा लागे । समूहमा उनलाई स्थानीय प्रितम पाण्डे लगायतले आबद्ध गराएका थिए ।
प्रतिकार समूहका नाममा अपराध गर्न छुट पाइरहेका बेला माओवादी विरुद्ध उनलाई प्रहरी–प्रशासनले समेत उपयोग गर्यो । प्रहरी –प्रशासनबाटै स्याबासी पाउँदा उनको हौसला बढ्यो । त्यसपछि त उनी अपराध कर्ममा झनै लिप्त भए ।
शान्ति प्रक्रियापछि असुरक्षा महसूस भएपछि भने नसिमले सशस्त्र समूहको बाटो रोजे । ‘संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा कौटिल्य’ समूहका नेता बने । उक्त समूह मार्फत निर्दोष नागरिकहरू उनको निशानामा परे । चलाख स्वभावका उनले आफू संलग्न मोर्चाका नेताहरूलाई समेत पक्राउ गराएका थिए । मोर्चाका तत्कालीन सैन्य कमाण्डर श्रमणकुमार मुराउ गुड्डुलाई उनले नै सुराक लगाएर पक्राउ गराएको आरोप छ ।
विस्तारै सशस्त्र समूहको पनि प्रभाव घट्दै गएपछि उनी आफूलाई संरक्षण गर्ने अर्काे शक्तिशाली केन्द्र खोज्न थाले । उनले मूलधारको राजनीतिमा लाग्नु सुरक्षित देखे । जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक बनेर सरकारी वार्ता टोलीसँग वार्ता गर्ने नाममा तत्कालीन नेकपा एमालेका नेतासँग सम्बन्ध विस्तार गरे । २०६९ सालमा उनी एमाले कपिलवस्तुका सदस्य बने ।
शक्ति र पैसाको बलमा जे पनि गर्ने नसिमले पार्टीलाई अन्ततः आफ्नो प्रभावमा पारे । उनले २०७४ सालको प्रदेश सभा निर्वाचनमा श्रीमती फौजिया नसिम खानलाई समानुपातिकतर्फ प्रदेश–५ को प्रदेश सभा सदस्य बनाउन सफल भए । उनको अपराध कर्मभित्रको छलाङ देखेर पार्टीका कार्यकर्ता पनि आश्चर्यमा परेका थिए ।
तत्कालीन नेकपा एमाले रहँदासम्म संगठनमा सक्रिय रहेका नसिम हाल नेकपामा भने साधारण सदस्य मात्र छन् । तर प्रहरी स्रोतका अनुसार अहिले पनि उनको नेकपामा स्थानीयदेखि केन्द्रीय तहका नेतासम्म राम्रो सम्बन्ध छ ।
पछिल्लो पटक ३ पुस २०७५ मा कपिलवस्तुको मायादेवी गाउँपालिका–२ अभिरावमा कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र तत्कालीन प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेल (हाल रूपन्देहीमा) सहभागी रहेको मुसायरा कार्यक्रममा मन्त्री बसेकै लहरमा देखिएका थिए ।
त्यसअघि पनि २६ मंसीर २०७३ मा पिपरा गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा पनि उनी जिल्ला सुरक्षा निकायका प्रमुखहरूसँगै कार्यक्रममा सहभागी थिए । त्यसपछि पक्राउ पर्ने सुइँको पाएपछि उनी भारत पसेका थिए ।
अपराधको लामो शृंखला
२०६३ देखि २०६७ सम्म नसिमले चलाएको हत्या शृंखला कहालीलाग्दो छ । उक्त पाँच वर्षको अवधिमा उनीमाथि आठ जनाको हत्या गरेको आरोप छ । कतिसम्म भने, शान्ति प्रक्रिया सन्देहपूर्ण रूपमा अघि बढिरहेका बेला माओवादी प्रतिकारको नाममा राजनीतिक तथा व्यक्तिगत प्रतिशोधका कारण उनले कपिलवस्तुका तीन जना माओवादी कार्यकर्ताको हत्या गरेको आरोप उनीमाथि छ ।
नसिमको राजनीतिक प्रतिशोधको शिकार बालबालिका पनि भएको प्रहरी अधिकारीहरू बताउँछन् । मूलधारको राजनीतिमा आएपछि पनि उनको अपराध कर्म रोकिएन ।
स्थानीय चुनावको रिस फेर्न र वडामा आफूले भने अनुसारको काम गर्न वडाध्यक्षले रोक्न थालेपछि ३ फागुन २०७४ मा कपिलवस्तुकै मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका पाँच वर्षका छोरा मोहम्मद रहमानको अपहरण गरेको आरोप उनीमाथि छ ।
अपहरणको तीन दिनपछि बालकको शव खानको घर पछाडि भेटिएको थियो । स्थानीय तहको चुनावमा नेकपाबाट गाउँपालिकाको उपाध्यक्षमा उठेकी नसिमकी श्रीमती पराजित भएकी थिइन् । वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
यी सबै घटनाको प्रहरीमा जाहेरीपछि अदालतमा मुद्दा दर्ता भइसकेको छ । धेरैजसो मुद्दा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुल्तबीमा छन् । बाँकी मुद्दाहरू क्रमशः फैसलाका लागि अघि बढ्ने कपिलवस्तुका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक दीपशमशेर जबरा बताउँछन् ।
नसिम पक्राउ परेपछि नेकपा कपिलवस्तु तरंगित बनेको छ । उनको रिहाइको माग गर्दै पार्टीका जिल्ला अध्यक्ष झविलाल पोखरेलले सार्वजनिक रूपमा विज्ञप्ति निकालेका छन् । विज्ञप्तिको विषयमा पार्टीभित्रकै एउटा पक्षले विरोध गरिरहेको छ ।
अध्यक्ष पोखरेल हातहतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आइसकेको अवस्थामा कानूनी कारबाही गरिनु उचित नभएकाले रिहाइ माग गरेको बताउँछन् । “राजनीतिक गतिविधिका क्रममा भएका घटनाका मुद्दा बल्झएर सजाय दिइनु जायज हुँदैन” उनी भन्छन्, “सरकारले नसिमका मुद्दा फिर्ता लिएर रिहा गर्नुपर्छ ।”