भारत भ्रमणबारे प्रधानमन्त्री कार्यालयको झूटो ट्वीट
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबारे भ्रमपूर्ण ट्वीट गरेको छ।
प्रधानमन्त्री दाहालको आधिकारिक ट्वीटर ह्यान्डल मार्फत ‘औपचारिक’ भ्रमणलाई ‘राजकीय’ भ्रमण भनेर प्रचार गरिएको हो। ट्वीटमा आठ करोड ९० लाख फलोअर्स भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्यान्डललाई पनि मेन्सन गरिएको छ।
‘प्रधानमन्त्रीको रूपमा मेरो चौथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले निकै महत्त्वपूर्ण अनुभूत भइरहेको छ। न्यानो आतिथ्य र महत्त्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु,’ ट्वीटमा भनिएको छ।
जबकि परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले प्रधानमन्त्रीको चारदिने भ्रमणलाई औपचारिक भ्रमण भनेको छ।
पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिमा हरेक शब्दको निश्चित अर्थ, सन्दर्भ र प्रभाव हुने भन्दै ट्वीट गर्दा ध्यान दिन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, तपाईंको भारत भ्रमण ‘राजकीय’ होइन, औपचारिक हो भन्ने तथ्य परराष्ट्र मन्त्रालयको विज्ञप्तिले बताउँछ। कूटनीतिमा हरेक शब्दको निश्चित अर्थ, सन्दर्भ र प्रभाव हुन्छ। आतिथेय भूमिमै रहँदै प्रधानमन्त्रीको आधिकारिक ह्यान्डलबाट ट्वीट गर्दा ध्यान पुर्याउनुभएको भए हुने!’
प्रधानमन्त्री दाहाल जेठ १७ मा चारदिने भ्रमणमा भारत गएका थिए। उनी आज साँझ स्वदेश फर्किने कार्यक्रम छ।