सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्।
भारतको मध्यप्रदेशस्थित इन्दौरमा रहेको विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले टाटा कम्पनी जस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन्। प्रधानमन्त्री दाहालले भने, “टाटा कम्पनी जस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ। लगानी गर्नुहोस्, त्यसका लागि हामी सहजीकरण गर्छौं।”
सोही क्रममा अर्थमन्त्री प्रकाशशरण महतले नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे। “नेपालको ‘आइटी सेक्टर’ मा पर्याप्त जनशक्ति छ, लगानी गर्न आउनुहोस्, हामी स्वागतका लागि आतुर छौं,” अर्थमन्त्री महतले भने।
भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दा बढी मुलुकमा काम गर्दै आएको छ। कम्पनीमा ६ लाखभन्दा बढी कर्मचारी आबद्ध छन्। इन्दौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरू सहित नेपाली प्रतिनिधिमण्डल त्यस क्षेत्रमा गएको हो।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहालले जेठ १७ गते भारत भ्रमणमा गएका हुन्। भारतको चार दिने भ्रमण सकेर प्रधानमन्त्री दाहाल आज साँझ काठमाडौं फर्कने कार्यक्रम छ।