साकेला सौन्दर्य
खेती गर्ने आदिवासी तरीकासँगै विभिन्न सीप देखाइने किरात राई समुदायको साकेला नाचमा कृषि सभ्यताको इतिहास हो।
मानव जातिको विकासक्रममा कृषि प्रणाली ठूलो आविष्कार मानिन्छ। खेतीबारे एक पुस्ताले अर्कोलाई सिकाउँदै जाँदा खेती संस्कृति बन्यो। खेती सिकाउन मानव जातिले विभिन्न रीतिरिवाजको सहारा लिएको देखिन्छ। नेपाल सहित दक्षिणएशियामा त्यस्ता थुप्रै रीतिरिवाज र परम्पराको अवशेष पाइन्छ। तिनमा किरात राई समुदायको साकेला नाचको विशिष्ट स्थान छ।
राई समुदायले ऋतुलाई आधार बनाएर उँधौली र उँभौली पर्व मनाउने गर्छ। जाडो याममा लेकबाट उँधो झर्ने उँधौली र गर्मी हुन थालेपछि बेंसीबाट माथि उक्लिने उँभौली। यिनै पर्वमा साकेला नाच नाच्ने गरिन्छ जसलाई कतै कतै चण्डी नाच पनि भनिन्छ। साकेलामा कृषि सभ्यताको इतिहास अझै देख्न सकिन्छ।
गत चैत २५ गते काठमाडौंमा आयोजित ‘ट्राइबल हाट’ मा सोलुखुम्बुको खालिङ राई समुदायले साकेला नाच प्रस्तुत गरेको थियो। टोलीका पूर्णबहादुर खालिङ (६७) का अनुसार साकेला नाचमा सिली अर्थात् नाच्ने तरीका धेरै हुन्छन्। केटाहरूका १२ र केटीहरूका ४२ प्रकारका सिली हुन्छन्। “यी नाचमा कसरी बीउ राख्ने, उखेल्ने, रोप्ने, ढोगभेट गर्ने र कसरी खाने भन्ने सबै हातको सङ्केतले देखाइन्छ,” उनी भन्छन्।
पूर्णबहादुर जस्ता जान्ने वा अगुवा बीचमा उभिएर गाउन थालेपछि वरिपरि गोलो घेरा बनाएर साकेला नाचिन्छ। महिला-पुरुष मिसिएर तथा बेग्लाबेग्लै समूहले पनि हातखुट्टाको चाल मिलाएर घुम्दै घुम्दै यो नाच नाच्छन्। पूर्णबहादुरकी बहिनी सुनबरी खालिङ (४९) नाचमा खेती कर्म अन्तर्गत भष्मे फाड्ने (खोरिया या झाडी फाँडेर/जलाएर खेतीका लागि तयार पारिने) देखि बीउ छर्ने, रोप्ने, गोड्ने, बाली काट्ने सबै देखाइने बताउँछिन्। “हातको सङ्केतले यी सब देखाएर नाच्न थाल्दा हामी तीन दिनमा पनि नाचेर सक्दैनौं,” उनी भन्छिन्।
खेती सिकाउने रीति
करीब १० हजार वर्षअघि संसारका विभिन्न ठाउँमा लगभग एकै समयमा मानिसहरूले खेती गर्न थालेको मानवशास्त्रीहरू बताउँछन्। अर्थात् आफैं फलेको र पाकेको खानेकुरामा भर पर्नुको साटो मानव जातिले रोपेर फलाएर खाने तरीका सिक्दै थियो। सिक्ने क्रममा मानव जातिले कृषिको ज्ञानलाई अत्यन्त महत्त्वपूर्ण र रहस्यमय ठानेर यसलाई रीतिरिवाज मार्फत पुस्तान्तरण गर्ने गरेको थियो भन्ने केही अभिलेख पाइन्छन्।
जस्तै- ग्रीक परम्परा ‘इलुसिनियन मिस्ट्रिज’ अन्तर्गत कृषिकी देवी डिमेटर र उनकी छोरी पर्सिफोनीको बिछोड र पुनर्मिलनको नाटक मञ्चन गरिन्थ्यो। पर्सिफोनीसँग बिछोड भएपछि डिमेटर दुःखी हुँदा पृथ्वीमा अनाज फल्नै छोडेको, उनले छोरीलाई खोजेको र पातालबाट छोरी फर्केपछि धर्तीमा अन्नबाली फुल्न-फल्न थालेको उक्त कथाले धर्तीमा ऋतुहरूको चक्रलाई देखाउँछ।
यो मिथकमा मानव जातिले ऋतुचक्र र कृषि तथा कृषिकर्म र प्रजननबीचको सम्बन्धबारे ज्ञान पाएको देखिन्छ। तर, दुई हजार वर्षसम्म मनाइएको यो पर्वको आज कुनै अवशेष छैन। यी देवता मान्ने ग्रीक/रोमन धर्म संसारबाट लोप भइसकेको छ र त्यसको ठाउँ लिएको इसाई धर्मले कृषिसँग त्यति बलियो सम्बन्ध कायम गरेको देखिँदैन।
नेपालमा प्रचलित दशैं चाड शुरूमा कृषिसँगै सम्बन्धित भए पनि पछिल्लो समयमा त्यसका अरू पक्षले कृषिसँगको साइनोलाई ओझेल पारेको छ। नेपाली हिन्दू महिलाबारे गहन अध्ययन गरिएको पुस्तक डेन्जरस वाइभ्स एन्ड सेक्रेड सिस्टर्समा लिन बेनेट लेख्छिन्, “दशैंमा लगाइने टीका जस्तै जमरा पनि ‘शुभ’ भएको गाउँलेहरू बताउँछन्, तर यी प्रतीकको विश्लेषण गर्नुपर्दा जमरा चाहिं प्रजननको प्रतीक हो भन्ने लाग्छ। दुर्गाले खुशी भएपछि आफ्ना भक्तहरूलाई दिने अन्न, धन र सन्तानको प्रतीक।”
बाली (विशेष गरी नेपालमा धान) पाक्ने वेला वा पाकेर भित्त्याएपछि मनाइने बडादशैं ‘हार्भेस्ट फेस्टिभल’ हो भनेर अरू विज्ञहरूले पनि बताएका छन्। आज आएर धार्मिक (दुर्गा उपासना) र सामाजिक (आफन्त भेटघाट) पक्षमाझ दशैं र कृषिको सम्बन्ध कमजोर भएको देखिन्छ।
कृषि परम्परामा साकेला
आजका अधिकांश सभ्यताको उद्गम कृषिबाट नै भएकाले कृषिसँग सम्बन्धित चाडपर्व/परम्परा/रीतिरिवाज र खेती गर्ने तरीकाको प्रदर्शन गर्ने थुप्रै संस्कृति संसारमा पक्कै छन्। तर, कृषिसँग समाज जति टाढिँदै जान्छ त्यति नै यी परम्परा परिवर्तन हुँदै वा ओझेलमा पर्दै गएका देखिन्छन्। यस सन्दर्भमा नेपालका किरात राई समुदायको साकेला नाच र यसले जोगाइराखेको इतिहास अझ महत्त्वपूर्ण छ।
हाम्रा आदिम पुर्खाले शिकार गरेर वा आफैं फलेको टिपेर खाएर मात्र गुजारा गर्नुभन्दा खेती गर्नु राम्रो हो भनेर कसरी सिके? बीउ रोपेपछि फल्छ र त्यो खान पाइन्छ भन्ने ज्ञान भर्खर थाहा पाउँदा पुर्खाले त्यसलाई कुन रूपमा लिए? र ती महत्त्वपूर्ण तरीका सिकाउनुपर्छ भन्ने लागेर कसरी नाचमा संगृहीत गरे? यी सबै पाटो साकेलाले बोकेको छ।
आज जलवायु परिवर्तनका कारण पृथ्वीले विभिन्न असर भोग्न थालेको छ भने अर्कातिर आधुनिक विकासले प्रकृतिको विनाश गरिरहेको छ। यसको समाधानका लागि खेती गर्ने र प्राकृतिक स्रोतहरूको कुशल व्यवस्थापन गर्ने पुराना तरीकाहरूको खोजी भइरहँदा साकेला नाचले त्यो ज्ञानमा पनि योगदान दिन सक्छ। किनकि यसले एउटा आदिवासी समुदायको जमीन र वातावरणसँगको सम्बन्धलाई अभिलेखीकरण गरेको छ।
साकेलामा जनजीवन
साकेला नाचमा कृषि बाहेक पनि अरू थुप्रै पक्ष छन्। महिलाले गर्ने ४२ वटा सिलीमा कृषिका साथै विभिन्न सीप समेटिएका छन्। जसले समुदायको पूरै जनजीवन दर्शाउँछ। महिलाले गर्ने सबै काम हातकै पाराले देखाइने सुनबरी बताउँछिन्। “धागो निकाल्ने, बुन्ने, अरू वस्तु बनाउने जस्ता सबै पर्छन्,” उनी भन्छिन्।
साथै, साकेला मनाउने तरीकाले यो समुदायको इतिहास र राज्यसँगको सम्बन्ध पनि देखाउँछ। पूर्णबहादुरका अनुसार साकेला भनेको खालिङ राई समुदायको पुर्खा हो। “उहिले हाम्रो बाजेले अवतार लिएका थिए रे, पछि उनी जिउँदै शिला भएपछि उनका सन्तानले पुज्न थाले रे। सबैले बुझ्ने भाषामा साकेला भनिए पनि पुर्खालाई हामी भूमे वा वास भन्छौं,” उनी भन्छन्। यो कथाका अरू संस्करण पनि पाइन्छन्, तर ‘साकेला’ वा ‘वास’ यो समुदायका पुर्खा हुन् भन्नेमा एकमत देखिन्छ।
पुर्खालाई पहिले गोरु बलि दिएर पुज्ने गरिएकोमा राँगा हुँदै पछिल्लो समय चाहिं सुँगुर बलि दिने गरिएको छ। पूर्णबहादुरका अनुसार गाईलाई राष्ट्रिय जनावर बनाइएपछि गोरु बलि दिन छाडेर राँगाले पुज्न थालियो। तर, राँगाले पुज्दा देउता नमानेको र एक पुराना पुजारीको सपनामा वास आएर राँगा बलि दिँदा गाउँमा रुघामार्की, अनिकाल, हैजा चलेर सबै मान्छे मासिन्छ,
त्यसैले अबदेखि सुँगुर बलि दिनू भनेपछि त्यसै गर्न थालिएको उनी बताउँछन्। गोवधमाथिको प्रतिबन्धले आदिवासी कला-सङ्गीतमा पनि असर गरेको छ। आदिवासी समुदायका च्याब्रुङ सहित विभिन्न बाजामा गोरुको छाला प्रयोग गरिनुपर्नेमा त्यसमा अवरोध पुगेको छ।
(भट्टराई स्वतन्त्र पत्रकार तथा लोकसाहित्य अनुसन्धाता हुन्। हिमालको २०८० जेठ अङ्कबाट।)