तराईमा कम्तीमा पाँच दिन लू चल्ने सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
तराईका अधिकांश भूभागमा कम्तीमा पाँच दिन अत्यधिक गर्मी हुने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबार विशेष बुलेटिन जारी गरेर तराईका अधिकांश स्थानमा पाँच दिनसम्म तातो हावा तथा लू (हिट वेभ) को सम्भावना रहेको बताएको हो। विभागले सिङ्गो मधेश प्रदेश तथा बागमती, लुम्बिनी र कोशी प्रदेशका तराईका कतिपय क्षेत्रलाई चेतावनीको स्तरमा राखेको छ।
अर्थात्, यी स्थानमा तातो हावा एवं लूबाट बच्न सचेतना अपनाउन आग्रह गरेको छ। यस बाहेक तराईका सबै क्षेत्रमा गर्मीबाट बच्न चनाखो रहन भनिएको छ।
भित्री मधेशका क्षेत्रमा पनि सम्भावित अत्यधिक गर्मीबाट जोगिन सचेत रहन आग्रह गरिएको छ। विभागले पहाडका उपत्यका र खोचमा पनि तापक्रम क्रमशः बढ्ने आकलन गरेको छ।
मौसम विज्ञान विभागले तातो हावा तथा लूबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिंडडुल नगर्न, हलुका लुगा लगाउन, घरबाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएको छ। तातो हावा तथा लूका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, वान्ता हुने लगायत जोखिम निम्तन सक्छ।
पानी पर्न रोकिएसँगै पछिल्ला दिनमा देशभरिको अधिकतम र न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। विभागका अनुसार देशका तराई र आसपासका क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ। मनसुनी वर्षा शुरू नहुँदासम्म अत्यधिक गर्मी कायम रहने जोखिम रहेको विभागले जनाएको छ।