यतिन्जेल सहें, अब म सहन्नँ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वले गरेका गलत कामकारबाही अब सहेर नबस्ने बताएका छन्।
नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले अब बोल्ने वेला आएको जिकिर गरे। अहिलेसम्म पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरिरहेको उनको भनाइ थियो।
रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक प्रमाणीकरण गर्ने लगायत विषयमा सभापति देउवाले एकलौटी निर्णय गरेको उनले बताए। “कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्त्वपूर्ण, दीर्घकालीन महत्त्वको र जनचासोका विषयमा निर्णय गरेको छ,” महामन्त्री थापाले सूची सुनाउँदै भने, “रेशम चौधरीलाई आममाफी दिने निर्णय, नागरिकता विषय, प्रदेश सरकारमा कांग्रेसको सहभागिता र मन्त्रालय तोडफोड र सांसद विकास कोष लगायतबारे सभापतिले एक्लै गरेको निर्णय हो।”
यी सबै निर्णय आफूले पनि सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताए। यसरी एकपछि अर्को गलत निर्णय गर्दै जाँदा पार्टी थिचिंदै जाने र कसैले बोक्न नसक्ने अवस्था आउने थापाको भनाइ थियो।
यसका लागि सबैभन्दा पहिले आफैंलाई बदल्न खोजेको थापाले बताए। त्यसका लागि अहिलेसम्म जसरी सहेर आए, अब त्यो नहुने उनको भनाइ थियो। “अब म सहन्नँ,” महामन्त्री थापाले भने, “सभापति बहुमतमा हुनुहुन्छ, मिलाउनुहोला भनेर यतिन्जेल सहें।”
उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई पनि आफूलाई बदल्न आग्रह गरे।