कहिलेसम्म बढ्छ गर्मी?
केही दिनदेखि काठमाडौं उपत्यकासँगै देशभर गर्मी बढेको छ भने जनजीवन प्रभावित भएको छ।
पछिल्लो पाँच दिनदेखि आकाश खुला भई निरन्तर चर्को घाम लागिरहेको छ। यससँगै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसूस भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसमको पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, “देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय (प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय) भएकाले अझै केही दिन वर्षा हुँदैन।”
जसले गर्दा केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन्। उनका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ। “तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेर गर्मी बढ्ने देखिन्छ भने काठमाडौं उपत्यकामा पनि क्रमिक रूपमा तापक्रम बढिरहेको छ,” मानन्धरले भनिन्।
मनसुनी वायु सक्रिय नरहे पनि देशका पहाडी भेगमा भने अबको तीन दिन छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्। तराई क्षेत्रमा मौसम सफा रहने हुनाले अझै गर्मी बढ्ने उनको भनाइ छ।
आज काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ। पछिल्लो केही दिनयता काठमाडौंको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले गर्मी महसूस गरिएको छ।
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।
नेपालमा सरदर पूर्वी नेपाल भएर १३ जूनमा मनसुन भित्रिने गर्छ। यो पटक मनसुन करीब दुई साता ढिला गरी अर्थात् असारको पहिलो साता मात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन्। त्यतिन्जेल गर्मी घट्न मुश्किल हुने महाशाखाले जनाएको छ।
केही दिनयता अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सा सहित तराई-मधेशका जिल्लाको जनजीवन कष्टकर बनेको छ। तराई-मधेशका केही जिल्लामा अधिकतम तापक्रम ४० देखि ४४ डिग्री सेल्सियससम्म पुगेको छ। (रासस)