अफ्रिकन ‘स्वाइन फिभर’ बाट ३९२ बङ्गुर मरे
अफ्रिकन ‘स्वाइन फिभर’ का कारण धमाधम बङ्गुर मर्न थालेपछि बाग्लुङका किसान चिन्तित भएका छन्।
बा्गलुङ नगरपालिकाको वडा नंं. १, २, ३ र ४ मा व्यावसायिक रूपले पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखिएको हो। जसका कारण शुक्रबारसम्म ३९२ बङ्गुर मरेको स्थानीय किसानले बताएका छन्।
व्यावसायिक रूपमा पालेका बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर खोर नै रित्तो हुन अवस्था आएको बङ्गुरपालक किसान गणेशबहादुर पुनले बताए। “केही दिनदेखि दैनिक खोरमा बङ्गुर मर्न थालेका छन्,” पुनले भने, “बिहान ठीकठाक भएका बङ्गुर साँझ मर्ने गरेका छन्, अहिले नगरपालिका, भेटेरिनरी अस्पतालमा हारगुहार गरेका छौं, उहाँहरूले परीक्षणका लागि नमूना पोखरा पठाउनुभएको छ।”
बाग्लुङ बजार क्षेत्रमा ५४ किसानले व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन्। उनीहरूमध्ये धेरैका बङ्गुर मर्न थालेका हुन्। अहिलेसम्म दुई करोड बराबरको क्षति पुगेको बङ्गुरपालक किसान डिलमाया थापाले बताइन्। “बङ्गुरपालन गर्न थालेको वर्षौं भयो, अहिलेसम्म यस्तो थाहा थिएन। मेरै खोरमा १५ वटा बङ्गुर मरिसकेका छन्,” थापाले भनिन्, “दैनिक खोर रित्तिँदै गएपछि किसानको उठिबास लागेको छ।”
यस क्षेत्रका ५४ किसानले पालेका ३९२ वटा बङ्गुर मरेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाग्लुङलाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसीले बताए। किसानका समस्याका लागि आफूले विभिन्न सरोकारवाला निकायसँग ध्यानाकर्षण गराइरहेको केसीको भनाइ छ।
किसानले पालेका बङ्गुर तथा सुँगुर एक्कासि मर्न थालेपछि रोगको विषयमा पहिचान गर्न नमूना सङ्कलन गरिएको भए पनि अहिले मरिरहेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ भाइरसको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाग्लुङका प्रमुख डा. ऋषिराम सापकोटाले बताए।
“लक्षण पूरै ‘अफ्रिकन स्वाइन फिभर’ को देखिएको छ, बाग्लुङको जैमिनी नगरपालिकामा पहिलो पटक किसानले पालेका बङ्गुरको परीक्षण गर्दा गत पुसमा मात्रै ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखापरेको थियो,” डा. सापकोटाले भने, “मरेका ४० बङ्गुरबाट नमूना सङ्कलन गरी पोखरा पठाइएको छ। किसानले खोरलाई निर्मलीकरण गर्न आवश्यकता देखियो, हामी रोग नियन्त्रणका लागि लागिपरेका छौं।”
बर्ड फ्लू जस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिभर’ रहेको पशु प्राविधिक केशव शर्माले बताए। उनका अनुसार उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य यो सरुवा रोगको सङ्क्रमण भएमा सुँगुर, बङ्गुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा बाहिर नीलो धब्बा देखिने, खाना नखाने जस्ता लक्षण देखापर्ने गरेको छ।
यो रोग विरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग देखा परेपछि उपचार समेत हुन नसक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने पशु स्वास्थ्यकर्मीको भनाइ छ। कुनै स्थानमा अस्वाभाविक रूपमा बङ्गुर मरेमा वा लक्षण देखा परेमा तत्काल कार्यालयमा जानकारी गराउन केन्द्रले किसानलाई आग्रह गरेको छ। बाग्लुङमा २०० भन्दा बढी किसानले १२ हजारको सङ्ख्यामा बङ्गुर पाल्दै आएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ।
रोगी बङ्गुर, त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा रोग सजिलै सर्ने र रोग छिटो फैलन सक्ने भएकाले सावधानी अपनाउनुपर्नेछ। अफ्रिकी महादेशमा मात्र सीमित यो रोग सन् २०१८ मा चीनमा र त्यसपछि भारत र भुटानमा पनि देखापरेको थियो। दुई वटा फार्मबाट शुरू भएको महामारी ५२ फर्ममा फैलिइसकेको किसानको भनाइ छ। (रासस)