सगरमाथाको ‘डेथ जोन’ मा गरिएको ‘दुर्लभ उद्धार’ को कथा
आठ हजार ४०० मिटरको उचाइ, ‘डेथ जोन’ मा जीवन-मरणको दोसाँधमा रहेका एक मलेशियन आरोहीको उद्धार गरेर गेल्जी शेर्पाले विश्वलाई मानवताको एक उत्कृष्ट नमूना पेश गरेका छन्।
जेठ ४ गते। राति साढे १२ बजेको थियो। ३० वर्षीय पर्वतारोही गेल्जी शेर्पा एक जना चिनियाँ आरोहीलाई लिएर सगरमाथाको शिखरतर्फ उक्लिंदै थिए। करीब आठ हजार ४०० मिटरको उचाइमा पुगेपछि गेल्जीले कुँजो परेर बसेको मानिस देखे।
यो स्थानलाई सगरमाथाको ‘बाल्कोनी’ भनिन्छ। अर्को शब्दमा- ‘डेथ जोन’।
यस्तो जोखिमपूर्ण ठाउँमा भुइँमा छटपटाइरहेका मानिस देखेपछि गेल्जीले नजिकै गएर हेरे। तिनको मुखमा लगाइएको कृत्रिम अक्सिजनको बोतल रित्तिइसकेको थियो। ती आरोही ‘डेथ जोन’ मा बाँच्नका लागि अन्तिम प्रयत्न गरिरहेका थिए।
यस्तो हृदयभेदी अवस्था देखेपछि गेल्जीलाई लाग्यो- जिउँदाजाग्दा आरोहीलाई शिखरमा पुर्याउनुभन्दा मृत्यु कुरेर बसेका आरोहीको ज्यान जोगाउनु महत्त्वपूर्ण हो। तल सगरमाथा आधारशिविरबाट गेल्जी आबद्ध ‘१४ पिक्स एक्सपिडिशन’ कम्पनीका सञ्चालक टासी लाक्पा शेर्पाले पनि उद्धारमै केन्द्रित हुनू भने।
“भुइँमा बसिरहेका थिए। जाडोले कामिरहेका थिए। बोल्न सकेका थिएनन्। अक्सिजन पनि सकिइसकेको रहेछ,” उद्धार हुनुअघि आरोहीको अवस्थाबारे गेल्जी भन्छन्, “शिखरको तयारीमा रहेकाले हामीले पाँच वटा अक्सिजन बोतल लगेका थियौं। त्यही अक्सिजन लडिरहेका आरोहीलाई लगाइदिएँ।”
अक्सिजन नै दिइसकेपछि गेल्जी र चिनियाँ आरोहीको आरोहण भने प्रभावित हुने भयो। गेल्जीले चिनियाँ आरोहीलाई चौथो शिविरतर्फ नै फिर्ता पठाए।
हालसम्म परिचय नखुलाइएका ती अशक्त आरोही मलेशियन नागरिक हुन्। १४ पिक्सका टासी लाक्पाका अनुसार ती आरोही जेठ ४ गते अपराह्न सगरमाथाको शिखर पुगेर फर्किंदै थिए। शिखरमा पुगेदेखि नै तिनको अवस्था गम्भीर भइसकेको थियो। शिखरबाट ओरालो लाग्ने वेला उनी हिंड्न नसक्ने भइसकेका थिए।
ढिलो हिंडेकै कारण उनीसँगै गएका दुई जना शेर्पाको अवस्था पनि गम्भीर भयो। उनीहरू ज्यान जोगाउन चौथो शिविरतिर झरे। जेनतेन शिखरबाट ४०० मिटर तल झरेपछि ती मलेशियन आरोही ढले। कुँजो परेर थरथर काम्दै बसे। उच्च हिमाली क्षेत्रमा देखिने हाइपोथर्मियाका कारण ढलेका उनको बाँच्ने सम्भावना करीब करीब सकिएको थियो।
यता, आधारशिविरबाट उद्धारको समन्वय गरिरहेका टासी लाक्पाले गेल्जी सहित ङिमा टासीलाई समेत जसरी भए पनि चौथो शिविरमाथि पुगेर भए पनि उद्धार गर्न खटाए। ङिमा मेक्सिकन आरोही लिएर शिखरतिर जाँदै थिए। उनको पनि आरोहण प्रभावित भयो।
उचाइमा पुगेपछि अधिकांश आरोहीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै जान्छ। प्राण धान्न बोतलमा राखिएको कृत्रिम अक्सिजनको भरमा शिखरतर्फ लागेका हुन्छन्। त्यो अक्सिजन पनि कम भयो भने आरोहीको फोक्सोमा पानी जम्ने, दिमाग सुन्निने, बेहोश हुने र लट्ठिएर बस्ने जस्ता लक्षण देखा पर्छन्। त्यस्ता लक्षण देखिएपछि कतिले बेसुरमा जथाभावी हाम फाल्ने, चश्मा र अक्सिजन मास्क फ्याक्ने जस्ता क्रियाकलाप गर्छन् जुन झनै जोखिमपूर्ण हुन्छ।
“ती मलेशियन आरोही हाइपोथर्मिया र हेस अर्थात् हाई अल्टिच्यूड सेरेब्रल इडिमा लगायत चिसो र अक्सिजन अभावका करण उच्च हिमाली क्षेत्रमा हुने सबैजसो लक्षणबाट पीडित थिए,” टासी लाक्पा भन्छन्।
अधिकांश आरोहीलाई कृत्रिम अक्सिजन लिएर पनि हिंड्न धौधौ हुने स्थानमा ज्यानको परवाह नगरी उद्धार गर्ने ग्याल्जीको अहिले संसारभर चर्चा भइरहेको छ। बेलायती समाचार संस्था रोयटर्सले उनको उद्धारलाई सगरमाथाबाट गरिएको एक ‘दुर्लभ उद्धार’ भनी टिप्पणी गरेको छ।
गेल्जी उता उद्धारमा खटिइसकेका थिए। आधारशिविरबाट टासीले निर्देशन र सुझाव दिइरहेका थिए। टासीकै सुझाव अनुसार गेल्जीले चिसोमा कठ्याङ्ग्रिएर लडिरहेका ती आरोहीको जिउमा म्याट्रेस बेरे। अनि पिठ्युँमा बोकेर जुरुक्क उठे। आरोहण कम्पनीले सार्वजनिक गरेको भिडिओमा गेल्जी डोकामा भारी बोके जसरी मलेशियन आरोहीलाई बोकेर फुर्तीका साथ लुइँलुइँ चौथो शिविरतर्फ ओरालो झरेको देखिन्छ।
बाल्कोनीको पहिलो एंकरबाट ओरालो झरेपछि गेल्जीले हिउँ भएको ठाउँमा ती अशक्त आरोहीलाई भुइँमा राखेर बिस्तारै तान्दै तल झारे। चट्टान भएको भागमा बोकेर नै तल झारे।
चौथो शिविर नजिक आइपुग्दा चाहिं गेल्जी लखतरान परे। हिंड्नै नसक्ने गरी थाके। गेल्जीले ङिमा टासीलाई रेडियोमा खबर गरे। चौथो शिविरभन्दा अलि माथिसम्म केही खानेकुरा भए लिएर आउन भने। ङिमा टासी पनि चौथो शिविरभन्दा १०० मिटरमाथिसम्म पुगे। जूस लगेका थिए। पिएपछि गेल्जीलाई अलिकति राहत भयो। अनि गेल्जी र ङिमा मिलेर मलेशियन आरोहीलाई चौथो शिविरमा पुर्याए।
त्यहाँबाट साथीहरूको सहयोगमा गेल्जीले ती आरोहीलाई तेस्रो शिविरसम्म पुर्याए। अनि ‘लङ लाइन रेस्क्यू’ गरेर गम्भीर अवस्थामा रहेका मलेशियन आरोहीलाई आधारशिविर पुर्याइयो। आधारशिविरबाट काठमाडौं हुँदै जेठ ९ गते ती आरोही मलेशिया फर्किए। उनी अहिले त्यहीं उपचाररत छन्।
उद्धार सफल भएपछि गेल्जी आइसफलको बाटो हुँदै आधारशिविर झरे। उनले लिएर गएका चिनियाँ आरोही सगरमाथाको माथिल्लो शिविरबाट ‘प्याराग्लाइड’ गर्दै आधारशिविरमा ओर्लिएका थिए। गेल्जी अहिले काठमाडौंमा छन्।
अधिकांश आरोहीलाई कृत्रिम अक्सिजन लिएर पनि हिंड्न धौधौ हुने स्थानमा ज्यानको परवाह नगरी उद्धार गर्ने ग्याल्जीको अहिले संसारभर चर्चा भइरहेको छ। बेलायती समाचार संस्था रोयटर्सले उनको उद्धारलाई सगरमाथाबाट गरिएको एक ‘दुर्लभ उद्धार’ भनी टिप्पणी गरेको छ। आरोहण सञ्चालक टासी लाक्पा पनि यति गम्भीर अवस्थामा रहेका आरोहीलाई पिठ्युँमा बोकेर सकुशल उद्धार गरिएको यो घटना दुर्लभ नै भएको बताउँछन्।
उद्धारका नायक शेर्पा
सगरमाथामा शेर्पाहरूले गरेका चामत्कारिक उद्धार धेरै छन्। हिमाल आरोहणभन्दा उद्धार १० गुणा कठिन हुने र सानो गल्तीले पनि ज्यान जाने जोखिम हुने उद्धारमा संलग्न शेर्पाहरू बताउँछन्। उद्धारमा लाग्दा यसै वर्ष पनि एक जना शेर्पाले ज्यान गुमाए।
सन् २०१७ मा २१ वर्षीय साङ्गे शेर्पाले आफ्नो ज्यान जोखिममा राखेर पाकिस्तानी सेनामा कार्यरत कर्नेल अब्दुल जब्बर भट्टीलाई बचाएका थिए। जसरी भए पनि सगरमाथा आरोहण गर्ने कर्णेल अब्दुलको जिद्दीका कारण साङ्गेका हात हिउँले खाएका थिए। अन्ततः आङछिरिङ लामा लगायत पथप्रदर्शकले आठ हजार ६०० मिटरको उचाइबाट उद्धार गरेर दुवैलाई बचाएका थिए।
“मैले अहिलेसम्म हिमालमा ७० भन्दा बढी रेस्क्यू गरेको छु। तीमध्ये मलेशियनको उद्धार मेरा लागि पनि अविस्मरणीय र महत्त्वपूर्ण रह्यो,” उनी भन्छन्, “उद्धार नभएको भए त उसको बाँच्ने सम्भावना नै थिएन। उद्धार भयो। राम्रो भयो।”
संखुवासभामा जन्मिएर युवा उमेरमा नै हिमालमा चमत्कार देखाइरहेका गेल्जी निकै बलिया शेर्पा मानिन्छन्। सगरमाथा आधारशिविरदेखि खुम्बु आइसफल भएर दोस्रो शिविरसम्म बाटो बनाउने आइसफल डाक्टरका रूपमा काम गरेका छन् उनले।
उनी लामो समय सगरमाथा पोलुशन कन्ट्रोल कमिटी (एसपीसीसी)मा समेत आबद्ध भए।
निर्मल पुर्जाले संसारका १४ वटा अग्ला हिमाल ६ महीना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान राख्दा गेल्जी त्यस मिशनको महत्त्वपूर्ण सदस्य थिए।
गेल्जीले हालसम्म चोओयु बाहेक आठ हजार मिटरमाथिका सबै हिमाल आरोहण गरिसकेका छन्। पछिल्लो समय उनले नेपाल र चीनको सीमामा रहेको चोओयु हिमाल नेपालतर्फबाट बाटो बनाएर आरोहण गर्ने प्रयास गरिरहेका छन्। बाटो नभएका कारण सन् २००५ देखि नेपालको बाटो भएर चोओयु आरोहण गर्न सकिएको छैन। गेल्जीले नेपालतर्फबाट दुई पटक आरोहण प्रयास गरिसकेका छन्।
चीनतर्फबाट चोओयु लगायतका हिमाल आरोहण अनुमति पाउन कठिन हुने भएकाले नेपालतर्फको बाटो खुलाउन पहल गर्नुपर्ने उनी बताउँछन्। आर्थिक अभावका बावजूद व्यक्तिगत लगानीमा चोओयुका लागि नेपालतर्फको रूट खुलाउने उनको प्रयास सफल हुन सकिरहेको छैन।
सन् २०२१ को जनवरीमा पहिलो पटक हिउँदमा पाकिस्तानको केटू हिमाल आरोहण गर्ने १० जना नेपालीमध्ये एक थिए गेल्जी। हिमालमा बाटो बनाउने र उद्धार कलामा निपुण गेल्जी अर्का सहकर्मी सोना शेर्पासँग केटू हिमाल आरोहणपश्चात् शिखरबाट सीधै आधारशिविर पुगेर संसारभरका आरोहीलाई चकित बनाएका थिए।
अहिले भने आफ्नो कारण एक जना मानिसको जीवन जोगिएकोमा गेल्जीलाई ठूलो सन्तोष छ। “मैले अहिलेसम्म हिमालमा ७० भन्दा बढी रेस्क्यू गरेको छु। तीमध्ये मलेशियनको उद्धार मेरा लागि पनि अविस्मरणीय र महत्त्वपूर्ण रह्यो,” उनी भन्छन्, “उद्धार नभएको भए त उसको बाँच्ने सम्भावना नै थिएन। उद्धार भयो। राम्रो भयो।”