फ्राइडे-रिलिज: हलिउड, बलिउड र मलयालम चलचित्र सिनेमाघरमा
नेपाली सिनेमाघरमा स्पाइडर-म्यान: अक्रश द स्पाइडर-भर्स, जरा हट्के जरा बच्के र २०१८: एभ्रिवान इज अ हिरो प्रदर्शन भइरहेका छन्।
नेपाली सिनेमाघरमा एक हलिउड, एक बलिउड र एक मलयालम चलचित्र प्रदर्शनमा आएका छन्। नयाँ नेपाली चलचित्र कुनै पनि प्रदर्शन नभएको यो साता विदेशी चलचित्रले नेपाली सिनेमाघर कब्जा गरेका हुन्।
कुनै कुनै सिनेमाघरमा भने पुरानै नेपाली चलचित्र जारी, ज्याकी: आई एम ट्वेन्टी वान प्रदर्शन भइरहेका छन्।
यो साता प्रदर्शनमा आएको नयाँ चलचित्र हो- स्पाइडर-म्यान: अक्रश द स्पाइडर-भर्स। एक्शन तथा एड्भेन्चर विधामा बनेको यो एनिमेटेड चलचित्र हो। यसका निर्देशक अकिम डोस सान्तोस, केम्प पावर्स र जस्टिन के थम्पसन हुन्। दुई घण्टा २० मिनेट लामो चलचित्रमा शमेइक मूरे, हेइली स्टेनफेल्ड, अस्कर आइज्याक, जेक जनसन, इसा रेई लगायत कलाकारको मुख्य भूमिका छ।
आजै प्रदर्शनमा आएको अर्को चलचित्र हो- जरा हट्के जरा बच्के। कमेडी विधाको यो चलचित्रका निर्देशक हुन् लक्ष्मण उतेकर। दुई घण्टा २५ मिनेट लामो यो चलचित्रमा सारा अली खान र बिकी कौशलको मुख्य भूमिका छ।
यस्तै, नेपाली सिनेमाघरमा एक मलयालम चलचित्र २०१८: एभ्रिवान इज अ हिरो पनि प्रदर्शन भइरहेको छ। भारतमा ५ मेमै प्रदर्शनमा आएको यो चलचित्र नेपालमा भने हिजोबाट प्रदर्शन गरिएको हो। सन् २०१८ मा केरलामा आएको बाढीको पृष्ठभूमिमा निर्माण गरिएको यस चलचित्रका निर्देशक जुदे एन्थनी जोसेफ हुन्।
दुई घण्टा ३० मिनेट लामो चलचित्रमा तोभिनो थमस, कुन्चाको बोआबन, आशिफ अली लगायत कलाकारको मुख्य भूमिका छ।