उपत्यका बाहिर चल्ने सबै सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर समेत सञ्चालन गर्न नपाइने जनाएको छ।
महानगरले आज सूचना जारी गर्दै काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो। अब उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र छुट्नेछन्।
जथाभावी पार्किङ गर्ने, टिकट बूकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई यस्तो आग्रह गरेको हो।
काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर समेत सञ्चालन गर्न नपाइने जनाएको छ।
यस्तै, धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ। सूचनाको अटेरी गरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियम अनुसार कारबाही गर्ने समेत महानगरले जनाएको छ। -रासस