ऊर्जा व्यापारमा ‘ब्रेक थ्रू’ भयो: प्रधानमन्त्री दाहाल
“जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ,” दाहालले भने, “नेपालको विद्युत् बाङ्लादेशसम्म निर्यात गर्नका लागि महत्त्वपूर्ण सहमति भयो।”
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण ऐतिहासिक रहेको बताएका छन्। नयाँ दिल्लीस्थित होटल आईटीसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँग कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रू’ भएको बताएका थिए।
नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलियम पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै दाहालले जलविद्युत् क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए।
“जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ,” दाहालले भने, “नेपालको विद्युत् बाङ्लादेशसम्म निर्यात गर्नका लागि महत्त्वपूर्ण सहमति भयो।”
यस्तै, महाकाली सन्धि अनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महीनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको पनि उनले जानकारी दिए। “यी लगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्त्वपूर्ण रह्यो, प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो,” उनले भने।
सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलो पटक प्रतिबद्धता जनाएको पनि प्रधानमन्त्री दाहालले बताए। सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौं भनेर आफूले प्रस्ताव गरेको उनको भनाइ छ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरावलोकन र नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। -रासस