चार अर्ब ८० करोडको लागतमा स्तरोन्नति हुँदै मुग्लिन–मलेखु सडकखण्ड
चार अर्ब ८० करोड रुपैयाँको लागतमा नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत मुग्लिनबाट मलेखुसम्मको सडक विस्तार र स्तरोन्नतिको काम शुरू भएको छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत मुग्लिनबाट मलेखुसम्मको सडक विस्तार र स्तरोन्नतिको काम शुरू भएको छ। ३९ किलोमिटर लामो सडकखण्ड स्तरोन्नतिको जिम्मा शर्मा जेडआईसीजी जेभीले पाएको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख किरण कार्कीले जानकारी दिए।
चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुने भए पनि हाल पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ। सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ। बजार क्षेत्रमा भने चारदेखि ६ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिएका छन्। बजार क्षेत्रमा फूटपाथ, डिभाइडर र बत्तीका पोल समेत राखिनेछन्।
यो खण्डमा पुल निर्माणका लागि पनि सोही कम्पनीसँग सम्झौता भएको छ। सम्झौता अनुसार मलेखुसम्म ६ वटा पुल निर्माण हुनेछन्। गोमती, चरौंदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन्। खटौटीमा भने पुल निर्माण अघि बढिसकेको छ।
यो खण्डमा १० ठाउँमा (मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, मझिमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिन)मा आकाशे पुल पनि निर्माण गरिनेछ।
आयोजनाको यो खण्ड चार अर्ब ८० करोड रुपैयाँको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो।
आयोजनाका लागि केही ठाउँमा रूख काट्न बाँकी छ। यो खण्डमा करीब ३५० रूख काटिनेछन्। “यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौं,” कार्कीले भने, “पहाड काट्दा सधैं पहिरोले दुःख दिने सम्भावना हुन्छ।”
सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ।
संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्न आयोजनाले तीव्र गतिमा काम अघि बढाएको छ। विश्व ब्यांकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो। यसका लागि सरकार र विश्व ब्यांकबीच सन् २०२० मा सम्झौता भएको थियो।
योसँगै नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ। -रासस