प्रवासीको पहलमा आदिकवि
मोतीरामले अनुसन्धानपूर्वक नभएर भानुभक्तको काव्यिक व्यक्तित्वप्रतिको श्रद्धाले दिएको ‘आदिकवि’ विशेषणलाई प्रवासी नेपालीहरूले शासकीय तहबाटै अनुमोदन गराए।
बिन्तीपत्र लेखन होस् वा कसैप्रति आक्रोश व्यक्त, कविताकै माध्यमले गर्ने भानुभक्त आचार्यले मृत्युको सात दशकपछि तत्कालीन श्री ३ महाराज जुद्धशमशेरबाट ‘आदिकवि’ उपाधि पाए। भक्तमाला उनको मौलिक काव्य सिर्जना मानिन्छ।
प्रश्नोत्तरमाला, वधूशिक्षा, रामलीला आदि अरू काव्य पनि छन् जुन पूर्णतः अनुवाद हुन्। यी कृतिलाई जटिल संस्कृतबाट नेपाली भाषामा उतारेका उनले अनुवाद गरेका रामायणका श्लोक अहिले पनि जनजिब्रोमा छन्।
भानुभक्तलाई सबैभन्दा पहिले ‘आदिकवि’ सम्बोधन गर्ने मोतीराम भट्ट हुन्। त्यसलाई औपचारिक बनाउन दार्जीलिङमा रहेर नेपाली भाषा-साहित्यमा कलम चलाउने सूर्यविक्रम ज्ञवाली लगायतले ठूलै पहलकदमी लिए। त्यही प्रभावमा शिक्षा विभागका तत्कालीन डाइरेक्टर जनरल मृगेन्द्रशमशेरको सिफारिशमा भानुभक्तलाई श्री ३ जुद्धशमशेरको स्वीकृतिमा ‘आदिकवि’ घोषणा गरियो।
जेलमा ‘रामायण’ अनुवाद
भानुभक्तको सबैभन्दा लोकप्रिय कृति रामायणको नेपाली अनुवाद नै हो। जागीरका क्रममा हिसाब गडबडी हुँदा कारावासमा राखिएका उनले रामायण अनुवादको धेरैजसो काम त्यहीं पूरा गरेका हुन्। हजुरबुबा श्रीकृष्ण आचार्यको निधनसँगै उनैबाट गर्दै आएको व्याकरण-साहित्यको अध्ययन अधकल्चो भएपछि ज्योतिष विधातर्फ लागेका भानुभक्तले एक ज्योतिषीको घरमा गई पढेका थिए (बाबुराम आचार्य, पुराना कवि र कविता, २०६२ः८०)। विद्यार्थीकालदेखि नै कविता लेखनप्रति आकृष्ट उनले १८९८ सालमै रामायणको ‘बालकाण्ड’ लेखेको अनुश्रुति छ (आचार्य, २०६२ः८१)।
भानुभक्तका बाबु धनञ्जय र उनका दुई-तीन भाइ निजामती सेवामा जागीरे थिए। ग्रह पञ्चाङ्गको गणना गर्दागर्दा ज्योतिषीहरू गणितमा सिपालु हुन्थे। पञ्चाङ्ग र जन्मपत्रिका लेखन अभ्यासले अक्षर पनि सुन्दर भइसकेको हुन्थ्यो। त्यसैले ज्योतिषीहरूलाई निजामतीमा सजिलै जागीर मिल्थ्यो।
भानुभक्तको जति योग्यता भएकाहरू त्यस वेला ‘मेजर’ दर्जाको कारिन्दामा भर्ना हुन्थे। पछि उनी पाल्पा गई पल्टनमा गोश्वार दफ्तारमा खरदार भएका थिए। त्यस वेला खरदारी पाउनु महाकठिन थियो, त्यसकारण उनी पहिले मेजर र त्यसपछि खरदारमा भर्ना भएका होलान् (आचार्य, २०६२ः८२-८३)।
जंगबहादुर सत्तामा आउनुअघि १९०२ सालमै भानुभक्त निजामतीमा भर्ना भइसकेका थिए। उनका अति घनिष्ठ साथी धर्मदत्त ज्ञवाली पाल्पामै खरदार थिए। हाकिमहरू अदलबदल हुँदा त्यहाँका हाकिम कृष्णबहादुर राणाको काठमाडौंमा सरुवा भयो। उनलाई राणाहरूले अड्डाखानामा भर्ना गरिदिएका थिए। भानुभक्तको भने जागीर खोसुवामा पर्यो।
त्यसको केही महीनापछि उनी बहीपत्र बुझाउन काठमाडौं आए। कुमारीचोक नामको घरमा रहेको अड्डामा बहीपत्र बुझाउन लाग्दा कागजपत्र नमिलेकाले १९०९ सालमा उनलाई पाँच महीना थुनियो। थुनुवा अवस्थामा पनि लेखपढको काम भने गर्न पाउँथे (आचार्य, २०६२ः८४)।
भानुभक्तले थुनुवा कक्षमा लामखुट्टे र उपियाँको टोकाइ झेल्नुपर्यो। यस्तो तीतो अनुभूति सहित थुनामुक्तिका लागि राणा अफिसर समक्ष ‘अपील’ गर्दा उनले कविताकै माध्यम उपयोग गरेका थिए। यही सन्दर्भमा उनले कृष्णबहादुर राणालाई लेखेको बिन्तीपत्र यस्तो छ-
रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछु।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।।
लाङ्खुट्ट्या उपिञा उडुस इ सँगि छन् इन्कै लहड्मा बसी
लाङ्खुट्ट्याहरू गाउँछन् ति उपिञा नाच्छन् म हेर्छु बसी।। १।।
ब्यर्थैमा म कुमारिचोक थुनिञा वाहीं बिरामी भई।
आञाथ्याँ घरमा बिराम् अति बढ्यो ठूलो विपत्ती सही।।
काट््या दिन् अब सञ्च भो अझ पनी थुन्छन् त मेरो गती।
आर्को छैन दया रहोस् हजुरको मेरो त ख्वामित् पति।। २।।
(आचार्य, २०६२ः८४-८५)
यो बिन्तीपत्रपछि भानुभक्त थुनामुक्त भए। त्यसपछि उनी सरकारी जागीरमा फर्केनन्, छोराहरूलाई समेत खुवाएनन्।
रामायणको ‘बालकाण्ड’ को अनुवाद पहिल्यै सिध्याएका उनले थुनुवा अवस्थामा ‘अयोध्याकाण्ड’, ‘अरण्यकाण्ड’, ‘किष्किन्धाकाण्ड’ र ‘सुन्दरकाण्ड’ का श्लोक पूरा गरे। थुनाबाट छुटेपछि काठमाडौंमै ‘युद्धकाण्ड’ र ‘उत्तरकाण्ड’ अनुवाद गरे। १९१० सालमा उनले अध्यात्म रामायणको सम्पूर्ण अनुवाद रसिलो र सजिलो पद्यमा गरिसिध्याएका थिए (डा. तारानाथ शर्मा, नेपाली साहित्यको ऐतिहासिक परिचय, २०६२ः२४)।
मोतीरामको घोषणा
भानुभक्तअघि पनि नेपालमा कवि नभएका होइनन्। तर, मोतीरामले नेपाली भाषामा सरस शैलीको लेखनमा भानुभक्तलाई नै जस दिँदै उनका कृतिको मूल्याङ्कन गरे। १९४३ सालमा मोतीरामले ‘तत्रादौ कवि-कुल मुकुट-माणिक्य-भानुभक्ताचार्य वर्णनम्’ भनी पहिलो पटक भानुभक्तलाई आदिकविको टोपी लगाइदिँदा लेखेका थिए,
भानुभक्त भनेर आदि कविमा भाषा सरस् गरी
रामायणकन् श्लोकले रचिदिया वैराग्य रस्ले भरी
ठांठांमा करुणा र वीर रसको खासा मजा पाइन्या
यस्ती यो कविता बयान जनले भुल्नन् कसोरी भन्या।
(कमल दीक्षित, कालो अक्षर, २०५०ः४५-४६)
१९४१ सालमा रामायणको ‘बालकाण्ड’ प्रकाशित हुँदा उनलाई ‘प्राचीन कवि भानुभक्त’ भनिएको थियो। पहिले पद्यमा ‘आदिकवि’ लेखेका मोतीरामले १९४८ सालमा भानुभक्ताचार्य जीवनचरित्र प्रकाशन गर्दा गद्यमा ठोकेरै ‘भानुभक्त हाम्रा आदि कवि हुन्’ भनी घोषणा गरे। उनले त्यहाँ ‘नेपाली भाषामा हुन ता नामी कविहरू पहिल्यै भए तर कविताको मर्म बुझी लेख्ने कविहरूमा आदि कवि भानुभक्त नै हुन्’ भनेर लेखे (दीक्षित, २०५०ः४६)।
मोतीरामले यसरी भानुभक्तलाई आदिकवि लेख्नु विशद अनुसन्धानपछिको स्थापित मान्यताभन्दा पनि उनको काव्यिक व्यक्तित्वप्रतिको श्रद्धाभाव मात्र थियो।
कुनै वेला आधुनिक नेपाली साहित्यको जागरणको केन्द्र थियो, दार्जीलिङ। त्यहाँ सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला तथा पारसमणि प्रधान लगायतले नेपाली साहित्यमा ठूलो जागरण पैदा गरेका थिए। उनीहरू ‘नेपाली साहित्य सम्मेलन’ नामक संस्थामा आबद्ध थिए। यता नेपालमा निरङ्कुश राणाहरू कृष्णलाल अधिकारी तथा लक्ष्मीनन्दन चालिसे जस्ता होनाहार लेखकलाई जेलमा सडाइरहेका थिए। ‘लाइब्रेरी काण्ड’ का नाममा कैयौं लेखक जेल हालिएका थिए।
उता दार्जीलिङमा सूर्यविक्रम गोरखाली शाहवंशीय राजा लगायतको जीवनी लेख्दै धमाधम प्रकाशन गर्दै थिए। यसै क्रममा उनले १९९२ सालमा पृथ्वीनारायण शाह पुस्तक प्रकाशन गरे। त्यति वेला नेपालको कठोर शासन व्यवस्थामा रहेर लेख्न सम्भव नभएकाले उनले यो अनुसन्धानात्मक पुस्तक दार्जीलिङमै बसेर लेखेका थिए (डा. राजेश गौतम, इतिहास लेखनको इतिहास, २०५१ः३५३)।
ज्ञवालीले द्रब्य शाह, राम शाह, बीर बलभद्र, अमरसिंह थापा आदिका जीवनीसँगै भानुभक्तको जीवनचरित्र (विसं १९८४), भानुभक्तीय रामायण (विसं १९९०) र भानुभक्त स्मारक ग्रन्थ (विसं १९९७) आदि पनि प्रकाशन गरे। यसरी प्रवासमा बस्ने नेपालीले पनि भानुभक्तलाई आदिकवि भन्न थालिसकेका थिए। यता नेपालमा भने आधिकारिक रूपमा आदिकवि भनाउने आँट कसैले गर्न सकिरहेको थिएन।
त्यसै वेला प्रवासीहरूले यसका लागि डाइरेक्टर जनरललाई गुहारे। डाइरेक्टर जनरलले महाराजलाई बिन्ती चढाए, ‘तलबभत्ता केही दिनुपर्ने होइन एउटा इज्जत मात्र हो, त्यो पनि मरिसकेको बाहुनलाई।’ त्यसपछि महाराजले ‘ल’ हुकुम हुनासाथ डाइरेक्टरले लेखेर राखेको कागज अघि सारे, महाराजका श्रीहस्तले दुःख गरीकन साढे सात अक्षर लेखेः ‘श्री ३ जुद्धशमशेर’। मरेका ७० वर्षपछि प्रवासीहरूले उनलाई सरकारी उपाधि दिलाए (दीक्षित, २०५०ः४५)।
२०१३ सालमा ज्ञवाली दार्जीलिङबाट नेपाल आए। कवि हृदयका तत्कालीन राजा महेन्द्रबाट उनले विभिन्न सरकारी अवसर पाइहाले। शुरूमा उनलाई पुरातत्त्व विभागको निर्देशकको जिम्मेवारी दिइयो। पछि तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको कुलपति बनाइए। एक पटक उनले दिल्लीस्थित नेपाली दूतावासमा सांस्कृतिक सहचरीमा पनि नियुक्ति पाएका थिए।
(लेखक दिक्पाल इतिहासका विविध विषयमा कलम चलाउँछन्। हिमालको २०८० जेठ अङ्कबाट।)