झलनाथ खनाल भन्छन्- यो देशमा यतिका धेरै सर्प छन्, फार्म बनाऔं
पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्प पालनका लागि लिएको पैसामा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले सर्प पालनका विषयमा आफूलाई बदनाम गर्न खोजेको जिकिर गरे। सर्प पालनका विषयमा अध्ययन भएको र त्यसमा ७२ करोड लाग्ने देखिएको उनको भनाइ थियो।
“सर्पको सन्दर्भमा अध्ययन भएको थियो। अध्ययनमा चाहिं ७२ करोड माग्ने भन्ने कुरा रहेछ, तर प्रदेश सरकारले चाहिं कति दियो ठ्याक्कै मलाई थाहा छैन,” खनालले भने, “१०–१५ करोड कति हो, त्यो चाहिं उनीहरूले लिए। ७२ करोड पनि होइन।”
त्यो संस्थामा आफ्नो नाम मात्रै राखिएको खनालले बताए। “मैले त आइडिया मात्रै दिएको हो। त्यो आइडियाको कारणले उनीहरूले नाम राख्छौं भने,” खनालले प्रस्टीकरण दिंदै भने, “त्यस अनुसार उनीहरूले काम गर्न सके कि सकेनन्, त्यो मेरो जिम्माको विषय होइन।”
संस्था राम्रो बनोस् भनेर मात्रै आफूले नाम दिएको उनको भनाइ छ। “मैले त त्यो संस्था राम्रो बनोस् भनेर मेरो नाम दिएको थिएँ,” खनालले भने, “मैले मेरो नाम फिर्ता गरिसकें। म अब त्यसमा छैन। किनभने, यो देशका मान्छेहरू सफा छैनन्।”
पूर्व प्रधानमन्त्री खनालको नामबाट झलनाथ खनाल प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठान मार्फत सर्प पालनको काम थालिएको थियो। त्यसमा सरकारले बजेट दिएको भन्दै विरोध भएको थियो।
सर्प पालनको काम भने राम्रो उद्देश्यले गरिएको उनको जिकिर छ। अझै पनि नेपालमा सर्प पालन गर्नुपर्ने उनले बताए। “अहिले पनि म भन्छु, यो देशमा यतिका धेरै सर्प छन्। अहिले फार्म बनाऔं। त्यसबाट प्रशोधन गरेर हामीले अन्त पनि बेच्न सक्छौं,” पूर्व प्रधानमन्त्री खनालले भने, “नेपालको लागि त त्यो हुन्छ हुन्छ। तर, त्यो कुरा अब राज्यले गर्न सक्दैन। मैले एक्लै गरेर त भएन।”
यसमा केही गडबडी भए राज्यले हेर्नुपर्ने उनको भनाइ थियो। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरेको खनालले बताए।