भारतसँग फुकोट कर्णाली र तल्लो अरुण निर्माण सम्झौता
फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि भारतसँग सम्झौता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको सम्झौता भएको हो। प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलनमा सम्झौता सार्वजनिक गरिएको छ।
नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको हो। आयोजना अगाडि बढाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद रिजाल र एनएचपीसीका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
यो आयोजना निर्माणका लागि एनएचपीसी र विद्युत् उत्पादन कम्पनीले एक नयाँ कम्पनी स्थापना गर्नेछन्। कम्पनीमा भारतीय कम्पनी एनएचपीसीको ५१ प्रतिशत र विद्युत् उत्पादन कम्पनीको ४९ प्रतिशत शेयर स्वामित्व रहनेछ।
यसअघि स्वदेशी श्रम, स्वदेशी पूँजी एवम् आन्तरिक लगानी प्रवर्द्धन गर्ने लक्ष्यका साथ सरकारले कालीकोटमा आयोजनास्थल रहेको आयोजनाको अध्ययन तथा निर्माणको ढाँचा समेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको थियो। यो कम्पनी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहत रहेको छ।
यो आयोजनाको क्षमता ४२६ मेगावाट छ। आयोजनाको लागत करीब ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ।
त्यस्तै, अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ। आयोजना विकास सम्बन्धी द्विपक्षीय सम्झौतामा आज यहाँ हस्ताक्षर भएको छ। आयोजना विकासकर्ता कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए)मा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गरेका छन्।
लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको थियो। अरुण तेस्रोमा भन्दा तल्लो अरुणमा केही थप नयाँ प्रावधान राखिएको छ।
ऊर्जा क्षेत्रमा बाह्य लगानी भित्र्याएर विश्वासको वातावरण बनाउने उद्देश्यका साथ आफूहरूले पीडीएमा हस्ताक्षर गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले जानकारी दिए।