मलेशियामा नेपालको लगातार दोस्रो जित
दुई देशीय टी-२० महिला क्रिकेट शृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
बिहीबार भएको तेस्रो खेलमा नेपालले मलेशियालाई २७ रनले पराजित गरेको छ। नेपालले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले चार विकेटको क्षतिमा ८३ रन मात्रै बनाउन सक्यो।
मलेशियाका लागि महिराह इज्जाती स्माइलले ४४ र विनिफ्रेड अन्ना डुराइसिगमले २० रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि कविता कुँवर, सीता राना मगर र इन्दु बर्माले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ११० रन बनाएको थियो। नेपालका लागि रुबिना क्षेत्रीले २७, ज्योति पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए।
मलेशिया भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलमा हार बेहोरेको थियो। त्यस्तै, जेठ १६ मा भएको दोस्रो खेलमा नेपालले मलेशियालाई सात विकेटले पराजित गरेको थियो।
पाँच खेलको टी-२० शृङ्खलामा अब अर्को खेल जेठ २० गते हुनेछ।