दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेल्ने
आईसीसी विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका गएको नेपाली टोलीले दुई वटा अभ्यास खेल खेल्ने भएको छ।
नेपाली राष्ट्रिय टोली अभ्यासका लागि जेठ १७ मा दक्षिण अफ्रिका प्रस्थान गरेको छ। त्यहाँ रहँदा एक साता अभ्यास गर्ने भएको छ।
त्यसपछि स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग दुई वटा एकदिवसीय अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। नेपाली टोलीले जेठ २५ मा स्कटल्यान्डसँग र जेठ २७ मा नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ।
दक्षिण अफ्रिकाबाटै नेपाली टोली विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्नेछ। विश्वकप छनोट प्रतियोगिता असार ३ देखि २४ गतेसम्म हुनेछ।
नेपाल रहेको समूह ‘ए’ मा नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज र जिम्बावे छन्। नेपालले पहिलो खेलमा असार ३ मा घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, असार ५ मा अमेरिकासँग, असार ७ मा वेस्ट इन्डिजसँग र असार ९ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
समूह ‘बी’ मा आयरल्यान्ड, स्कटल्यान्ड, ओमन, श्रीलंका र यूएई छन्। दुवै समूहका उत्कृष्ट तीन-तीन टोली ‘सुपर-६’ मा पुग्नेछन्।
‘सुपर-६’ मा आफ्नो समूहका दुई र अर्को समूहका तीन टोलीसँग एक-एक खेल खेल्नेछन्। त्यसमा उत्कृष्ट दुई टोलीले फाइनलमा पुग्नेछन्। फाइनलमा पुगेका टोली नै विश्वकपका लागि छनोट हुनेछन्।