बालयौन दुराचारको आरोपमा अष्ट्रेलियन नागरिक पक्राउ
बालयौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार अष्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ।
विभिन्न मुलुकका विदेशी नागरिकले नेपाली बालकहरुलाई प्रलोभनमा पारेर बालयौन दुराचार गर्दै छन् भन्ने सूचनाका आधारमा कास्की प्रहरीको सहयोगमा खटिएको सीआईबीको टोलीले पोखराको डिहीबाट उनलाई पक्राउ गरिएको प्रवक्ता दीपक रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा ६३ वर्षीय अष्ट्रेलियन नागरिक बेरिम्यान थोमस अल्फ्रेड रहेका छन् । उनले कोठा भाडामा लिएर बालयौन दुराचार गरेको अनुसन्धानमा खुलेको र सोही कोठाबाट आज पनि दुई बालकको उद्धार गरिएको सीआईबीले जनाएको छ ।
उनलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन (जबरजस्ती करणी) कसुरअन्तर्गतको मुद्दामा आजै कास्की जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको सीआईबीले आज एक सूचना जारी गरी जनाएको छ ।