आर्थिक मन्दी फापेको व्यवसाय
आर्थिक गतिविधिमा शिथिलताका कारण देशका धेरै व्यवसाय समस्यामा छन्। तर, विदेशी भाषा पढाउने कन्सल्टेन्सी र वैदेशिक रोजगारीमा पठाउने म्यानपावरको व्यापार भने गुल्जार छ।
थापाथलीको पीईए इन्स्टिच्यूटले इन्जिनीयरिङ पढ्न चाहने विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गर्दै आएको तीन दशक भइसक्यो। हरेक वर्ष कक्षा १२ को परीक्षा सकिनासाथ इन्जिनीयरिङ पढ्न चाहने देशभरिका विद्यार्थी ओइरिने भएकाले इन्स्टिच्यूट भरिभराउ हुन्थ्यो।
तर, यो वर्ष कक्षा १२ को परीक्षा सकिएको एक साता नाघिसक्दा पनि पीईएमा अघिल्ला वर्ष झैं विद्यार्थी आएनन्। पीईएका सञ्चालक लक्ष्मण पोखरेलका अनुसार २०६२/६३ यता पहिलो पटक पीईएका विद्यार्थी घटेका हुन्।
“पहिलेको र अहिलेको वर्ष कक्षा १२ को परीक्षा सकिएको एक हप्ताको तुलना गर्ने हो भने ५० प्रतिशत विद्यार्थी घटेका छन्,” पोखरेल भन्छन्। उनका अनुसार, पहिले यो अवधिमा औसत दुई हजार विद्यार्थी भर्ना हुन्थे भने अहिले एक हजार विद्यार्थी पनि भर्ना भएका छैनन्।
त्यस्तै अवस्था छ मेडिकलको तयारी कक्षा सञ्चालन गर्दै आएको नेम इन्स्टिच्यूटको पनि। नेमका निर्देशक डा. नवीन शर्माका अनुसार पहिलेको वर्षको तुलनामा यो वर्ष मेडिकलको तयारी कक्षा पढ्ने विद्यार्थीको संख्या झन्डै ५० प्रतिशतले घटेको छ।
आखिर पीईए र नेममा जाने विद्यार्थी एकाएक कता हराए? पीईएका सञ्चालक पोखरेल र नेमका निर्देशक शर्माको भनाइलाई आधार मान्ने हो भने अधिकांश विद्यार्थी विदेश अध्ययनमा गएका छन्।
पोखरेल त यो वर्ष धेरैले विदेश पढ्न जाने सोच बनाएको सङ्केत आफूले पहिले नै थाहा पाएको बताउँछन्। “हामीले यसअघि कलेजको भ्रमण गर्दा धेरै विद्यार्थीमा विदेश जाने मनोविज्ञान पाएका थियौं,” उनी भन्छन्।
देशमा भविष्य नदेखेर कामका लागि जाने मात्रै होइन, विदेश अध्ययनका लागि गएर उतै स्थायी बसोबास गर्ने युवाको संख्यामा अभूतपूर्व वृद्धि भएपछि पीईए र नेम जस्ता शैक्षिक इन्स्टिच्यूटको व्यवसाय खस्किएको छ।
शिक्षा मन्त्रालयबाट हरेक महीना विदेशमा अध्ययन गर्न जान आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिनेको संख्या १० हजारभन्दा बढी छ।
गुलजार परामर्श सेवा
मुलुकको अर्थतन्त्र यो वर्ष नराम्ररी थला पर्यो। देशभित्र वस्तु र सेवाको माग खस्किंदा व्यापार व्यवसायमा गहिरो धक्का लागेको छ। व्यापार नभएपछि कतिपय साना र मझौला व्यवसायीले त सदाका लागि व्यवसाय नै बन्द गरिसकेका छन्।
काठमाडौं मात्र होइन, देशका अन्य मुख्य शहरका पसलमा ताला झुन्डिएको र सटर बन्द भएको दृश्य देखिन्छ।
तथ्याङ्कले पनि अर्थतन्त्र मन्दीउन्मुख भएको देखाउँछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई त्रैमासिक (साउन–असोज र कात्तिक–पुस) त आर्थिक वृद्धिदर नकारात्मक नै हुन पुग्यो। अर्थात् आर्थिक क्रियाकलाप विस्तार भएन बरु अघिल्लो वर्षका तुलनामा झन् खस्कियो।
तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशको उत्पादनमूलक, निर्माण, थोक तथा खुला व्यापार क्षेत्रको वृद्धिदर त ऋणात्मक नै हुने अनुमान गरेको छ। अघिल्लो आर्थिक वर्षमा ६.७४ प्रतिशत बढेको उत्पादनमूलक क्षेत्रको विस्तार यो आर्थिक वर्षमा २.०४ प्रतिशतले खुम्चिने अनुमान छ। त्यस्तै, निर्माण क्षेत्र अघिल्लो आर्थिक वर्षभन्दा २.६२ प्रतिशतले घट्ने अनुमान छ। थोक तथा खुद्रा व्यवसाय अघिल्लो आर्थिक वर्षभन्दा २.९६ प्रतिशतले घट्ने अनुमान गरिएको छ।
उत्पादनमूलक क्षेत्रको विस्तार घट्नुको अर्थ बजारमा वस्तुको माग घटेको छ भन्ने हो। निर्माण क्षेत्रको विस्तार ऋणात्मक रहनुले देशभित्र विकास निर्माणका काम पहिले जसरी भइरहेका छैनन् भन्ने बुझाउँछ। निर्माण क्षेत्र शिथिल हुँदा फलामे छड, सिमेन्ट जस्ता उद्योगको उत्पादन बिक्री हुँदैन, श्रमिकले रोजगारी पाउँदैनन्। अर्कातिर, बजारमा किनमेल गर्ने उपभोक्ताको हातमा रकम नभएपछि किराना, लत्ताकपडा एवं अरू सामान बिक्री गर्ने पसलहरूको व्यवसाय सुस्त हुन पुग्छ। अहिले भएको पनि यही हो।
व्यवसायीहरू अहिले जस्तो सङ्कट सशस्त्र द्वन्द्व, महाभूकम्प वा कोभिड महामारीका वेला पनि नदेखिएको बताउँछन्।
तर, यस्तो मन्दीमा पनि केही यस्ता व्यवसाय छन्, जसको कारोबार झन् गुलजार भइरहेको छ। विदेश पढ्न जाने विद्यार्थी तयार गर्ने भाषा पढाउने संस्था र कन्सल्टेन्सीमा विद्यार्थी संख्या बढेका छन्। विद्यार्थी बढेपछि स्वाभाविकै छ, यस्ता संस्थाको व्यापार पनि बढेको छ।
पुतलीसडकमा रहेको मुनलाइट एजुकेशन कन्सल्टेन्सीले जापान, अस्ट्रेलिया र क्यानाडामा विद्यार्थी पठाउँछ। मुनलाइटका सञ्चालक सुदर्शन बञ्जारा यो वर्ष अघिल्लो वर्षको तुलनामा भाषा पढ्न आउने विद्यार्थी बढेको बताउँछन्।
अहिले उनले एक शिफ्टमा ५० जना विद्यार्थीलाई जापानी भाषा पढाइरहेका छन्। अघिल्लो वर्ष जापानी भाषा पढ्ने विद्यार्थी एक शिफ्टमा २५ जना जति थिए।
पुतलीसडककै कान्तिपुर एजुकेशन सेन्टरले अस्ट्रेलिया, अमेरिका, न्यूजिल्यान्ड, बेलायत र क्यानाडामा नेपाली विद्यार्थी पठाउने गर्छ। नेपालमै व्यवस्थापन सङ्काय र इन्फर्मेशन टेक्नोलोजी पढ्ने विद्यार्थीका लागि यसले तयारी कक्षा समेत सञ्चालन गर्ने गरेको छ।
तर, यहाँ आउन अधिकांश विद्यार्थीको उद्देश्य भने विदेश जाने नै हुन्छ। व्यवस्थापक प्रकाश मिश्रका अनुसार अघिल्लो वर्ष विदेश जानका लागि भाषा पढ्न ४०० हाराहारी विद्यार्थी आएका थिए भने यो वर्ष उक्त संख्या बढेर ७०० हाराहारी पुगेको छ। “हामी नेपालमै विद्यार्थी पढून् भन्नेमा छौं। तर, उनीहरू बस्नै चाहँदैनन्,” मिश्र भन्छन्।
बानेश्वरको अल्फाबिटा कन्सल्टेन्सीले अमेरिका, क्यानाडा, बेलायत र अस्ट्रेलिया जस्ता देशमा विद्यार्थी पठाउने गर्छ। हरेक वर्ष करीब सात हजार विद्यार्थीले यो कन्सल्टेन्सीबाट सेवा लिन्छन्।
यो वर्ष पनि उत्तिकै संख्यामा विद्यार्थी रहेको अल्फाबिटाका वैदेशिक शिक्षा संयोजक अनिल नेपाल बताउँछन्। “हाम्रोमा हरेक वर्ष सेवा लिने विद्यार्थी सात हजार हाराहारी हुन्, त्यो संख्या अहिले पनि घटेको छैन,” उनी भन्छन्।
एनओसी र श्रम स्वीकृति लिने बढे
शिक्षा मन्त्रालयबाट एनओसी लिनेको तथ्याङ्कले पनि विदेशी भाषा पढाउने कन्सल्टेन्सीको व्यापार बढेको सङ्केत गर्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२१ मा एनओसी लिनेको संख्या ४४ हजार ८०० थियो। सन् २०२२ यो संख्या बढेर एक लाख २१ हजार पुग्यो।
विदेश पढ्न जानेको जस्तै छ वैदेशिक रोजगारीमा जानेको संख्या पनि। नेपाल राष्ट्र ब्यांकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ को चैतसम्ममा दुई लाख ५६ हजार ३१ जनाले श्रम स्वीकृति लिएका थिए। आर्थिक वर्ष २०७९/८० को चैतसम्म त्यो संख्या बढेर तीन लाख ८७ हजार ८३९ पुग्यो।
पछिल्लो नौ महीनामा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्नुको कारण मलेशियाबाट अदक्ष कामदारको माग बढी आउनु रहेको काठमाडौं सिनामंगलस्थित ब्ल्याक पर्ल म्यानपावरका सञ्चालक जमाल अली बताउँछन्। उनका अनुसार ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्था लागू भएपछि मलेशियाले नेपालबाट कामदार कटौती गरेको थियो, तर पछिल्लो नौ महीनामा मलेशियाले फेरि अत्यधिक कामदार माग गर्यो।
उनका अनुसार यस अवधिमा अधिकांश म्यानपावरमा मागभन्दा बढी आवेदन परेको थियो। “मलेशियाले बढी कामदार माग गरेकाले अहिले म्यानपावरको व्यवसाय बढेको हो। तर, सधैं यही अवस्था रहन्न,” अलीले भन्छन्।
समाजशास्त्री तथा आप्रवासन मामिलाका जानकार गणेश गुरुङ कोभिड-१९ महामारीको वेला रोकिएका कामदार विदेश जान थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्न थालेको बताउँछन्। उनका अनुसार विदेश जानेको संख्या बढ्नुको कारण देशको आर्थिक मन्दी मात्र कारण होइन।
“दुई–तीन वर्षदेखि रोकिएका कामदार एकैचोटि जाने भएकाले संख्या बढेको देखिएको हो, यसरी संख्या बढ्नुमा देशको आर्थिक मन्दी मात्र कारण होइन,” उनी भन्छन्।
हरेक वर्ष नेपालमा करीब पाँच लाख श्रम जनशक्ति उत्पादन हुनाले पनि विदेश जानेको संख्या बढेको उनी तर्क गर्छन्।