आज दाहाल र मोदीबीच भेटवार्ता हुने
प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। दाहालको सम्मानमा आजै मोदीले दिवाभोजको आयोजना पनि गर्नेछन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरे लगत्तै हैदराबाद हाउसमा मोदीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ।
त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ। ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्ग लगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ।
यस्तै, केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ। त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसपछि हैदराबाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने छन्। प्रधानमन्त्री दाहालको सम्मानमा आजै प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना पनि गर्नेछन्।
प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। आज साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ।