भारत भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ दिनु होः दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ दिने बताएका छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा बोल्दै दाहालले भने, “दुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई नयाँ उचाइ दिई अझै मजबूत र जनस्तरसम्म लैजानु यस भ्रमणको मूल उद्देश्य हो।”
चारदिने भ्रमणमा गएका दाहालले जेठ १८ गते आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेटवार्ता गर्ने कार्यक्रम छ। भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग आफ्नो शिष्टाचार भेट हुने दाहालले बताए। त्यही दिन नेपाल र भारतबीच केही सम्झौता सम्पन्न हुने दाहालले बताए।
प्रधानमन्त्रीका रूपमा चौथो पटक भारत भ्रमण गरेका दाहाललाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।
भ्रमण टोली जेठ २१ गते काठमाडौं फर्कने कार्यक्रम छ।