नागरिकता विधेयक प्रमाणीकरणको देश-विदेशबाट स्वागत
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएकोमा विभिन्न राजनीतिक दल तथा क्षेत्रका व्यक्तिले स्वागत गरेका छन्।
१० महीनादेखि राष्ट्रपति कार्यालयमै थन्किइरहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन्। यसअघि २०७९ साउनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मै फिर्ता पठाएकी थिइन् भने दुवै सदनबाट गत भदौमा पुनः पारित गरेर पठाउँदा प्रमाणीकरण नगरेर राखेकी थिइन्।
अहिले आएर प्रमाणीकरण भएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्वागत गरेको छ। लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण हुनु सकारात्मक भएको जनाएका छन्।
“संविधानको धारा ६१ को उपधारा (२), (३), (४) तथा संविधानको धारा ६६ बमोजिम सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्त बमोजिम प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक हो,” ठाकुरले भनेका छन्, “यसले खासगरी राज्यविहीनको स्थितिमा रहेका नेपाली नागरिकको पीडामा मल्हमको काम गर्नेछ र समग्रतामा समेत नागरिकता सम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ।”
त्यस्तै, जनमत पार्टीका अध्यक्ष सीक राउतले पनि यसको स्वागत गरेका छन्। “नागरिकता विधेयक प्रमाणीकरण गरिएकोमा जनमत पार्टी हार्दिक स्वागत गर्दछ,” अध्यक्ष राउतले भनेका छन्, “विगत लामो समयदेखि नागरिकताविहीन रहेका योग्य नेपालीहरूलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोमा खुशी व्यक्त गर्दछौं।”
यसैगरी, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पनि खुशी जनाएका छन्। बुधबार सप्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिएका छन्। “नागरिकता पाउनकै लागि नागरिक लड्नुपर्ने विषय दुर्भाग्यपूर्ण हो,” यादवले भने, “मुलुकबाट नागरिकता सम्बन्धी समस्या सदाका हल होस्।”
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि प्रेस विज्ञप्ति जारी गरी नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत गरेका छन्। “विधेयक प्रमाणीकरण भएसँगै संसदीय लोकतन्त्रको मान्यता र संविधान अनुसार संसद्को सर्वोच्चता कायम भएको छ,” निधिले भनेका छन्, “यसबाट नेपालको संविधान, २०७२ ले नागरिकता सम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ। बुबा र आमा दुवै जना नेपाली नागरिक भएर पनि वर्षौंदेखि नागरिकता नपाएका तिनका सन्तानहरूका समस्या समाधान हुने भएको छ।”
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएकोमा स्वागत गरेको छ। एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान, २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्गप्रशस्त भएकोमा खुशी जनाएका हुन्।
“राष्ट्रपतिको यस कदमले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूलमन्त्रलाई छिटै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौं,” कार्यकारी अध्यक्ष केसी भनेका छन्, “विश्वभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन थप दायित्वबोध गरेका छौं।”
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले भने विधेयकको विरोध गरेको छ। “नागरिकता प्रमाणपत्र कागजको खोस्टो होइन, यो कुनै पनि देशको स्वाभिमानी नागरिक हुनुको परिचय समेत हो,” राप्रपा नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नागरिकता वितरणमा खेलबाड नहोस् भन्ने राप्रपा नेपाल आग्रह गर्दछ।”