रेशम चौधरीले भेटे टीकापुर घटनाका कैदी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनामा जेल सजाय भोगिरहेका कैदीसँग भेटघाट गरेका छन्।
बुधबार दिउँसो नभेटी फर्किएका चौधरीले साँझ फेरि कैलाली जिल्ला कारागार पुगेर भेटघाट गरेका हुन्। बुधबार साँझ ६ बजे कैलाली कारागारमा रहेका तीनै जना कैदीसँग भेटघाट भएको उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्।
कैलाली कारागारमा टीकापुर नगरपालिका-४, ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका-७, मोतीपुरका हरिनारायण चौधरी र जानकी गाउँपालिका-७ लट्कनियाका प्रदीप चौधरी कैलाली कारागारमा छन्।
संविधान लेखनका समयमा चलेको थरुहट आन्दोलनका क्रममा टीकापुर घटना भएको थियो। २०७२ भदौ ७ गते भएको घटनामा आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान गएको थियो। त्यसको भोलिपल्ट कर्फ्यूबीच थारू समुदायका ८३ घरटहरा, पसल, एफएम लगायतमा आगजनी भएको थियो।
त्यो घटनामा प्रहरीले रेशम चौधरी सहित २७ जनालाई पक्राउ गरी कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो। त्यसमध्ये जिल्ला र उच्च अदालतले ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। उनीहरूमध्ये दुई जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ।
जन्मकैद सजाय सुनाइएका चौधरीले भने राष्ट्रपतिबाट आममाफी पाएका थिए। उनी गणतन्त्र दिवसको अवसरमा जेठ १५ मा रिहा भएका थिए।