प्रधानमन्त्री दाहाल दिल्लीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल दिल्ली पुगेका हुन्।
प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्। त्यसक्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत शंकर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव लगायतको उपस्थिति थियो।
प्रधानमन्त्री दाहाललाई विमानस्थलमा सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो। त्यसैगरी ‘भारतमा स्वागत छ’ भन्ने लेखिएका ब्यानर पनि सडक किनारमा राखिएका थिए।
भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल छन्। त्यस्तै, नेपाल सरकारका सचिवहरू, उद्योगी, व्यवसायी पनि भ्रमण टोलीमा छन्।