सुन लगाएर ‘ट्रोल’ बनाएकोमा ओलीको प्रतिक्रिया- त्यति सुन म बोक्न पनि सक्दिनँ
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तस्वीरमा सुनका विभिन्न गहना लगाएर सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाएकोप्रति असन्तुष्टि जनाएका छन्।
बुधबार कलाकारलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुनैसुन लगाएर ‘ट्रोल’ गरेकोमा गुनासो गरे। अध्यक्ष ओलीले भने, “केपी ओलीको फोटोमा हातभरि सुनैसुन, यता (घाँटीमा) पनि सुनैसुन, यहाँ बोकी नसक्नु सुनैसुन। त्यति सुन म बोक्न पनि सक्दिनँ होला।”
पशुपतिनाथको मन्दिरमा जलहरी बनाउने वेला तोकिएको मात्रामा सुन नभएको भन्दै नेकपा (माओवादी केन्द्र)का सांसदले प्रतिनिधि सभाको बैठकमा प्रश्न गरेका थिए। त्यसको विरोध गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेका थिए। पछि संसद्को रेकर्डबाट हटाउने सहमति भएको थियो।
त्यही विषयलाई लिएर सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री ओलीलाई ‘ट्रोल’ गरिंदै आएको छ। उनको तस्वीरमा सुनैसुनका गहना लगाएर भाइरल बनाइएको छ।
त्यसलाई लिएर पूर्व प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेका हुन्। “मेरो शरीरमा सुन भन्ने कुरा मैले जिन्दगीमा औंठी लगाएको छैन,” ओलीले भने, “म सानो हुँदा मेरी आमा बित्नुभएको, आमाले लगाउने गरेको औंठी सानै छँदाखेरि लगाइदिएका थिए। आमाले कान्छी औंलातिर लगाएको त्यो औंठी मैले बीचको औंलातिर लगाएँ, तीन–चार दिन।”
त्यसले आमाको सम्झना आउन थालेपछि फुकालेको उनले सुनाए। “त्यो औंठीले मलाई बडो ‘डिस्टर्ब’ गर्यो,” ओलीले भने, “आमालाई पटक पटक सम्झिने कुरा कम भएको थियो। त्यो औंठी लगाएपछि पटक पटक सम्झिने, मेरो मनमा अलिकति बढी हडबडी भइरहने, आमाको सम्झनाले गर्दाखेरि। तीन–चार दिन लगाएपछि मैले लगाउन सकिनँ र फुकालेर यो मबाट हुँदैन भनें।”
त्यसपछि अलि ठूलो भएपछि एक जना साथीले दिएको औंठी एक दिन लगाएको उनले सुनाए। “त्यस बाहेक मैले औंठी लगाएको छैन, लगाउँदिनँ,” ओलीले भने, “म सानो छँदा मुद्रा लगाइदिएका थिए। ठूलो भएपछि खोलियो। अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएको छ।”
खराब नियत भएका मान्छेले झूट फैलाउन सुनैसुन लगाएर तस्वीर भाइरल बनाएको उनको भनाइ थियो। “कस्तो नियत, कस्तो घटिया कुरा होला!” ओलीले भने, “आफ्नो क्षमता त सत्य उजागर गर्न प्रयोग गर्ने कि झूट?”
सत्य बोल्दा पनि राम्रोसँग बोल्नुपर्ने, प्रिय लाग्ने गरी बोल्नुपर्ने हाम्रो शिक्षा भएको उनको भनाइ थियो।