कोशी नाममा पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको अपील
कोशी प्रदेशका नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले ‘कोशी’ नाममा पुनर्विचार गर्न आग्रह गरेका छन्।
उनीहरूले बुधबार संयुक्त प्रेस विज्ञाप्ति जारी गरी ‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने’ मर्म अनुसार कोशी प्रदेश नामको विषयमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग आग्रह गरेका हुन्। प्रदेशको नाम कोशी राखिपछि पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन्।
कांग्रेसका जिल्ला सभापतिहरूले अहिले भइरहेको आन्दोलन र कोशी नामका सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता औंल्याएका छन्।
“हामी कोशी प्रदेश नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं। कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरूलाई सच्याउने साहस गर्न सक्दछ।”
उनीहरूले आन्दोलनमा भएको सरकारी दमनको भत्सर्ना पनि गरेका छन्। यससँगै संयमित हुन आन्दोलनकारीलाई पनि आग्रह गरेका छन्।