सुदूरपश्चिमको सुगम क्षेत्रमै घरमा सुत्केरी हुनेको संख्या अत्यधिक
सुदूरपश्चिम प्रदेशको सुगम जिल्लाका रुपमा रहेको कैलालीमै घरमा सुत्केरी गराउने महिलाको संख्या अत्यधिक रहेको पाइएको छ, जसले गर्दा पाठेघर खस्ने समस्या पनि देखिएको छ।
सुदूरपश्चिम प्रदेशको तुलनात्मक हिसाबले सुगम मानिने जिल्ला कैलालीमै अधिकांश महिला घरमै सुत्केरी हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। फाया नेपालले ‘मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रवर्द्धन परियोजना’ लागू गर्नु अघि जिल्लाका १३ पालिकामा गरेको अध्ययनमा यस्तो तथ्याङ्क आएको हो।
अध्ययनअनुसार, धनगढी उपमहानगरपालिकामै आर्थिक वर्ष २०७८/७९ मा ५१ जनाले घरमै बच्चा जन्माएका थिए। यसैगरी गोदावरी नगरपालिकामा ४३ जना, भजनी नगरपालिकामा २८ जना, घोडाघोडी नगरपालिकामा २४ जना, गौरीगंगा नगरपालिकामा १६ जना, लम्कीचुहा नगरपालिकामा १२ जना र टीकापुर नगरपालिकामा ११ जना घरमै सुत्केरी भएका थिए।
फाया नेपालका अनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी चुरे गाउँपालिकामा १०१ जना महिला घरमै सुत्केरी भएका थिए। चुरेमै आव २०७७/७८ मा १६४ जनाले घरमै बच्चा जन्माएका थिए।
यसैगरी, मोहन्याल गाउँपालिकामा ४० जना, बर्दगोरिया गाउँपालिकामा नौ जना, जानकी गाउँपालिकामा एक जना २०७८/७९ मा घरमै सुत्केरी भएको अध्ययनमा देखिएको छ। कैलारी गाउँपालिका र जोशीपुर गाउँपालिकाका सुत्केरी आमाले भने स्वास्थ्य संस्थामै बच्चा जन्माएका छन्।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जयराम केसी घरमा सुत्केरी हुँदा थुप्रै जोखिमको सामना गर्नुपर्ने भएकाले सकेसम्म स्वास्थ्य संस्थामै बच्चा जन्माउनुपर्ने बताउँछन्। “घरमा बच्चा जन्माउँदा रक्तस्रावले विभिन्न संक्रमणहरू हुन सक्ने, बच्चाको नाभिमा संक्रमण हुन सक्ने र अस्पतालमा जस्तो तालीमप्राप्त स्वास्थ्यकर्मी घरमा उपलब्ध नहुने भएकाले पाठेघरको स्याहारबारे जानकारीको अभावले विभिन्न जोखिम बढ्न सक्छ,” डा. केसी भन्छन्।
डा. केसीका अनुसार अहिलेको समयमा सूचनाको अभावले भन्दा पनि लापरवाही गर्दा घरमै बच्चा जन्माउने गरिएको छ। त्यसमाथि हरेक पालिकामा ‘बर्थिङ सेन्टर’ समेत रहेकाले सुत्केरी हुन सजिलो भएको उनी बताउँछन्।
पाठेघरको पनि समस्या
गत चैत २० गते कैलारी गाउँपालिका र ओरेक नेपाल कैलालीको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको थियो। शिविरमा ३३६ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका थिए।
परीक्षण गराएकामध्ये १९ जनामा पाठेघर खसेको रिपोर्ट आयो। तीमध्ये ११ जना रिङ (चुरा जस्तो गोलाकार वस्तु) विधिबाट उपचार गराइरहेका छन् भने आठ जनाको शल्यक्रिया गर्नुपर्ने भएको ओरेक कैलालीकी कार्यक्रम संयोजक गीता चौधरीले बताउँछिन्।
कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नरेश चौधरीका अनुसार विशेषगरी धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुँदा, आराम नपाउँदा, तालीमप्राप्त नर्सको रेखदेख विना घरमै सुत्केरी गराउँदा महिलामा पाठेघर खस्ने सम्भावना धेरै हुने गरेको छ।
घरमा सुत्केरी गराउँदा तालीमप्राप्त नर्स नहुने हुँदा छरछिमेकको सहयोगमा जबर्जस्ती पेटमा थिच्ने, बल गर्न लगाउने गर्दा पेटमा गम्भीर असर पर्छ। जसले पाठेघरमा पनि समस्या हुन्छ।
पाठेघर पिसाब थैली र दिसा थैलीको बीचमा हुन्छ। यो अङ्ग कारणवश आफ्नो ठाउँबाट तल झरेको खण्डमा पाठेघर खसेको भनिन्छ।
डा. केसीका अनुसार बच्चा जन्माउँदा सुरक्षित जन्मिएन वा अस्पतालमा जन्माइएन भने पाठेघरलाई थेगेर राख्ने फेसिया लिगामेन्टमा जोर पर्यो भने पाठेघर खस्ने गर्छ। सामान्यतया बच्चा पाउँदा पाठेघरको मुख खुला नहुँदै धेरै बल लगाएको अवस्थामा असर पर्छ।
कहिलेकाहीं पाठेघरको मुख खुल्दा पनि बच्चा निस्किएन भने मांसपेशी र लिगामेन्टमा असर परेर पाठेघर खस्ने गर्छ। बच्चा जन्माउँदा साल निकाल्न धेरै बल गरिएको अवस्था पनि पाठेघर खस्छ।
पाठेघर खस्दा हिंड्न गाह्रो हुने, पासिएर घाउ हुने, रगत चुहिने जस्ता समस्या देखिन्छन्। पाठेघर खस्ने समस्या सुत्केरीसँगै महीनावारी रोकिएकाहरूमा पनि हुने गरेको डा. केसी बताउँछन्।
पाठेघर खसेपछि रिङ विधिबाट उपचार हुन्छ। तर, यो स्थायी उपचार भने नभएको र स्थायी समाधानको लागि शल्यक्रिया नै गर्नुपर्ने उनको भनाइ छ। डा. केसीका अनुसार पाठेघर खसेकाहरूले समयमै उपचार नगराए र सरसफाइमा ध्यान नदिए पाठेघरको मुखको क्यान्सर हुने सम्भावना पनि अधिक हुन्छ।