राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।
संघीयका संसद्का दुवै सदनले पारित गरेर पठाएको विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ।”
सरकारले २०७९ साउन १५ गते नागरिकता संशोधन विधेयक प्रमाणीकरणका लागि पठाएको थियो। त्यति वेला राष्ट्रपति विद्यादेवी भण्डारीले केही सुझाव सहित संसद्मा फिर्ता पठाएकी थिइन्।
त्यसपछि सरकारले संसद्का दुवै सदनबाट पारित गरेर २०७९ भदौ २० गते राष्ट्रपतिको कार्यालयमा पठाएको थियो। तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणित गरेकी थिइन्।
त्यति वेला थाँती रहेको विधेयक प्रमाणीकरण गर्न सरकारले फेरि जेठ १२ गते पत्राचार गरेको थियो। राष्ट्रपतिको कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको म.बै. ३२१/६९७४ को पत्रबाट लेखी आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत बमोजिम विधेयक प्रमाणीकरण गरेको छु।’