झापामा १०२ जना मिटरब्याज पीडितले दिए उजुरी
झापामा मिटरब्याज पीडित १०२ जनाले प्रशासन कार्यालयमा उजुरी दिएका छन्।
अनुचित लेनदेन (मिटरब्याज)बाट पीडित १०२ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन्। गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले निवेदन दिएका हुन्।
सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन्।
निवेदन दर्ता गराउनेहरू वार्षिक ३६ प्रतिशत ब्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने रहेका छन्।
मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घरजग्गा आफ्नो नाममा पास गरेको, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएको लगायत उजुरी परेका छन्।
सहायक प्रजिअ न्यौपानेका अनुसार जिल्लाका १५ पालिकामध्ये शिवशताक्षी र दमक नगरपालिकाबाट बढी उजुरी परेको छ। मिटरब्याज पीडितबाट रु.पाँच लाखदेखि रु. एक करोडसम्मको कारोबारको दाबी गरिएको उजुरी परेको उनले जानकारी दिएका छन्।
न्यौपानेले हालसम्म परेका पाँचभन्दा बढी उजुरीमाथि छलफल गरी लेनदेन गर्ने व्यक्तिबीच आपसी सहमति भएको पनि बताएका छन्। प्रशासनले मिटरब्याज पीडितलाई अन्तिम पटक यही जेठ १४ गतेभित्र निवेदन दिइसक्न सूचना जारी गरेको थियो। म्याद सकिएको दुई दिनपछि पनि थप दुई जनाको उजुरी परेको थियो।