‘सांसदहरू वडाध्यक्षको लेभलमा आउनुभयो’
सरकारले सांसद विकास कोष ब्युँताएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सांसदहरू वडाध्यक्षको तहमा आएको भनेर कटाक्ष गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सांसदहरू वडाध्यक्षको तहमा आएको बताएका छन्। आज फेसबूकमा एक स्टेटस लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
“सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनुभयो,” उनले लेखेका छन्, “वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्यूहरू।”
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम (सांसद विकास कोष) ब्युँताएको छ। सरकारले संसदीय प्रणाली र संघीय व्यवस्था प्रतिकूल रहेको यो कार्यक्रमका लागि जनताले तिरेको करबाट सवा आठ अर्ब खर्च हुने भएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले हिजो प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्य अनुसार हरेक निर्वाचन क्षेत्रमा पाँच करोड वितरण हुनेछ। विगतको अनुभव हेर्दा यसरी वितरण गरिने रकम अनियमित तरीकाले सांसदका आसेपासे पोस्नमै सकिएको देखिन्छ।