बेहडाबाबा धाममा गंगादशहरा मेला, पाँच लाख दर्शनार्थी आउने अनुमान
बेहडाबाबा मन्दिरमा पत्नीलाभ, पुत्रलाभ, धनलाभ लगायत मनोकांक्षा लिएर तीर्थालुहरू आउने गरेको स्थानीय बताउँछन्। भारतीयहरूले मन्दिरको शिवलिङ्ग कैयौं पटक उखेल्ने प्रयास गरे पनि सकेनन्।
कैलालीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला शुरू भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका– १६ रामपुरस्थित बेहडाबाबामा हरेक वर्ष जेठ महीनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगादशहरा पूजा तथा धार्मिक मेला लाग्ने गर्दछ।
धार्मिकसँगै ऐतिहासिक महत्त्वको यो मन्दिरमा अहिले दर्शनार्थीको भीड लागेको छ। बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका अनुसार यस वर्ष करीब पाँच लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको छ।
यसैबीच समितिले दर्शनार्थीलाई लक्षित गरी सतर्कता पनि बढाएको छ। समितिका अध्यक्ष पदमराज जोशी मन्दिर तथा मेलाको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित स्वयंसेवक पनि परिचालन गरिएको बताउँछन्।
मेलामा खानेपानी तथा शौचालयको व्यवस्था गरिनुका साथै बस व्यवसायीको सहकार्यमा धनगढीदेखि मन्दिरसम्म बस सेवा पनि सञ्चालन गरिएको छ। मेलामा ६०० भन्दा बढी व्यापारिक स्टल राखिएका छन्।
किन विशेष छ बेहडाबाबा?
बेहडाबाबा मन्दिरमा पत्नीलाभ, पुत्रलाभ, धनलाभ लगायत मनोकांक्षा लिएर तीर्थालु आउने गरेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार मन्दिर भएको स्थानमा पहिले घना जङ्गल थियो। परापूर्वकालमा शिवलिङ्ग आफैं उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको हो।
हाल मन्दिर भएको क्षेत्रमा पहिले भारतीयको दबदबा थियो।भारतीयहरूले घुम्न आएका वेला शिवलिङ्ग समेत फेला पारेका थिए। उनीहरूले डोरीले बाँधेर कैयौं पटक शिवलिङ्ग उखेल्ने प्रयास पनि गरे। तर, उखेल्न सकेनन्। फलामको घनले हिर्काउँदा पनि शिवलिङ्ग उखेल्न नसकिएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ। घनले हिर्काएको जस्तो देखिने छाप अहिले पनि शिवलिङ्गको माथिपट्टि स्पष्ट देख्न सकिन्छ।
मन्दिर बनेपछि नजिकैका आदिवासी त्यहाँ बस्न थालेको बताइन्छ।
मन्दिर परिसरमै ‘महादेवा’ नामको ठूलो तलाउ पनि छ। तलाउमा स्नान गरी दर्शनार्थी शिवको पूजा गर्छन्। हालै धार्मिक पर्यटन विकासका लागि सो तालमा मोटरबोट सञ्चालनमा ल्याइएको छ। नेपाल बोट एन्ड अम्युज्मेन्ट प्रालिले ६ वटा बोट सञ्चालनमा ल्याएको हो। यसले पर्यटकको संख्या बढ्ने समितिका अध्यक्ष जोशी बताउँछन्।
पछिल्लो समय धनगढी उपमहानगरपालिकाले मन्दिरको गुरुयोजना बनाएर संरचना निर्माण गर्न थालेको छ।