जर्मनीमा अन्तिम दुई खेल जित्दै काठमाडौं किकर्स ११औं स्थानमा
काठमाडौं किकर्सको यू-१३ टीमले जर्मनीमा आयोजित ‘फिन्च्त जुनियर फूटबल ५४औं भीआर ब्यांक कप २०२३’ मा अन्तिम दुई खेल जित्दै ११औं स्थान हात पारेको छ।
काठमाडौं किकर्स फूटबल एकेडेमीको यू-१३ टीमले जर्मनीको म्युनिखमा आयोजित ‘फिन्च्त जुनियर फूटबल ५४औं भीआर ब्यांक कप २०२३’ मा सोमबार दुई खेलमा जित हासिल गरेको छ। एसभी मामेन्डर्फले आयोजना गरेको तीनदिने प्रतियोगिताको अन्तिम दिन काठमाडौं किकर्सले टीएसभी मुरेनवेइसलाई २–० गोल अन्तरले हराएको हो।
किकर्सका लागि विशांख कार्की र अविन भट्टराईले गोल गरे। यो जितसँगै किकर्स समूह २ को छैटौं स्थानमा रह्यो। त्यसैले समूह १ को छैटौं स्थानमा रहेको टीएसभी गेल्टेन्डोर्फ विरुद्ध किकर्सले प्लेअफमा खेल्नुपर्यो। जसमा किकर्सले ३–१ को जित निकाल्यो।१–० ले पछाडि परेको स्थितिमा सुधार गरेर हात पारेको जितमा अविनले दुई गोल गरे भने अंगश भुसालले एक गोल गरे।
प्रतियोगितामा सहभागी कुल १६ टीममध्ये पाँचलाई हराएर काठमाडौं किकर्स यू-१३ टीम ११औं स्थानमा पुग्यो। समूह चरणमा किकर्सलाई २–१ ले पराजित गरेको एफएसभी इचिङले उपाधि जित्यो।
५६ वर्षअघि शुरू भएको फिन्च्त जुनियर फूटबलमा सहभागी हुने किकर्स पहिलो नेपाली टीम हो। कोभिड-१९ महामारीअघि फ्रान्स, इटाली, स्वीट्जरल्यान्ड, अस्ट्रिया लगायत यूरोपका विभिन्न देशका क्लब सहभागी हुने यस प्रतियोगितामा यस पटक एक्लो विदेशी टीमका रूपमा काठमाडौं किकर्सले प्रतिस्पर्धा गरेको हो।
६ वर्षदेखि १५ वर्षसम्मका ६ वटा उमेर समूहका प्रतियोगिता आयोजना गरिएको ५४औं संस्करणमा २० क्लबका ६४ टीम सहभागी थिए। उनीहरूबीच २९० खेल भए।