अन्तिम दुई बलमा १० रन प्रहार गर्दै चेन्नईले जित्यो आईपीएलको उपाधि
गुजरात टाइटन्सलाई हराउँदै चेन्नई सुपर किङ्ग्सले यस वर्षको आईपीएलको उपाधि जितेको छ। चेन्नईको यो पाँचौं उपाधि हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि चेन्नई सुपर किङ्ग्सले जितेको छ। गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो।
यो सहित महेन्द्रसिंह धोनीले सर्वाधिक आईपीएल उपाधि जित्ने कप्तानका रूपमा मुम्बई इन्डियन्सका रोहित शर्मासँग कीर्तिमान बराबरी गरेका छन्।
अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा भएको उपाधि भिडन्तमा पहिलो पारीमा गुजरातले चार विकेटको क्षतिमा २१४ रन बनाएको थियो। तर, वर्षाले खेल प्रभावित भएपछि ‘डीएलएस मेथड’ अनुसार चेन्नईले १५ ओभरमा १७१ रन बनाउनुपर्ने नयाँ लक्ष्य पायो।
चेन्नईलाई जितका लागि अन्तिम दुई बलमा १० रन आवश्यक थियो। यस्तोमा स्ट्राइकमा रहेका रवीन्द्र जडेजाले १५औं ओभरको पाँचौं बलमा छक्का प्रहार गरे। छैटौं तथा पारीको अन्तिम बलमा जडेजाले चौका प्रहार गर्दै आवश्यक १० रन बटुले।
२५ बलमा ४७ रन बनाएका चेन्नईका डेवोन कोन्वे फाइनल खेलको ‘म्यान अफ द म्याच’ भए। यस्तै गुजरातका शुभमन गिल ‘प्लेयर अफ द टुर्नामेन्ट’ भए।
यसअघि आइतबार तय भएको फाइनल खेल वर्षाले प्रभावित भएपछि ‘रिजर्भ डे’ का लागि सारिएको थियो।