टोखा-छहरे सुरुङमार्ग निर्माण तयारीका लागि एक अर्ब विनियोजन
सरकारले टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग बनाउन एक अर्ब बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरिने बताए। यसअघि नै यो आयोजनाको सम्भाव्यता अध्ययन सकिइसकेको छ।
लामो समयदेखि निर्माण रोकिएको पासाङल्हामु राजमार्ग आगामी आर्थिक वर्षमा निर्माण सक्ने घोषणा पनि अर्थमन्त्री महतले गरे। उनले तीनपिप्लेदेखि रानीपौवा हुँदै नुवाकोटको पिपलटार मार्ग निर्माण सकिने बताए। यसका लागि ५० करोड विनियोजन गरिएको छ।
त्यसैगरी, गल्छी-मैलुङ हुँदै रसुवागढी मार्गको निर्माणका लागि ५१ करोड छुट्याइएको उनले बताए।