सामाजिक सुरक्षा भत्ता बढेन
सरकारले यस वर्ष सामाजिक सुरक्षा भत्ता बढाएन।
अर्थमन्त्री प्रकाशशरण महतले संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ६८ वर्ष उमेर पुगेका नागरिकलाई दिंदै आएको मासिक चार हजार रुपैयाँको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको बताए।
सरकारले लोककल्याणकारी नीतिका रूपमा ‘कोखदेखि शोकसम्म’ सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने बजेटले उल्लेख गरेको छ।
सामाजिक सुरक्षातर्फ आगामी वर्षका लागि रु.एक खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरिएको छ। सामाजिक सुरक्षाका लागि दिगो स्रोत व्यवस्थापन नीति लिने, दोहोरोपन घटाउने र लक्षित वर्गमा केन्द्रित गर्ने पनि बजेटमा उल्लेख छ।
यससँगै सामाजिक सुरक्षा भत्ता सीधै सेवाग्राहीको ब्यांक खातामा जाने व्यवस्था गरिने भएको छ।